• २०८१ माघ ११ शुक्रबार

काठमाडौँमा द्विदेशीय विशेष आयोजना हुने

काठमाडौँ, १४ फागुन २०७८

श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र भुवनेश्वर, भारतको कलिङ्ग लिटरेरी फेस्टिवलबीच एक अनौपचारिक बैठक भएको छ । बैठकमा आगामी दिनमा संयुक्तरूपमा एक अन्तर्राष्ट्रिय संगोष्ठी आयोजना गर्ने विषयमा गहन छलफल भएको थियो । छलफलमा साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरी, उपाध्यक्ष हरिहर शर्मा, सदस्यहरू राजेन्द्र शलभ, रमण घिमिरे, डा. श्वेता दीप्ति, अक्षरङ्ग अनलाइन पत्रिकाका रञ्जना निरौला र श्रीपा एवं कलिङ्ग लिटरेरी फेस्टिवलका प्रबन्धनिर्देशक तथा संस्थापक रश्मिरञ्जन परिदा तथा देवाशीष सामन्त्रे सहभागी थिए । यी दुई संस्थाले संयुक्त आयोजनाका माध्यमबाट युगौँदेखिको मैत्रीपूर्ण सम्बन्ध अझ घनिष्ट हुने अपेक्षा राख्दै काठमाडौँमा नेपाली र भारतीय सांस्कृतिक, धार्मिक तथा साहित्यिक सम्बद्र्धनका लागि संयुक्तरूपमा एक बृहत् संगोष्ठी आयोजना गर्ने सहमति प्रकट गरेका छन् ।

साहित्यकला मन्दिर नेपालमा सुपरिचित यस्तो एक प्रतिष्ठित संस्था हो, जसले साहित्य, कला, संस्कृतिका क्षेत्रमा योगदान पुर्याउने दिग्गज स्रष्टाहरूलाई विगत २८ वर्षदेखि बर्सेनि सम्मानित गर्दै आउनुका अतिरिक्त पुस्तक प्रकाशनलगायतका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दैआएको छ । यस्तै कलिङ्ग लिटरेरी फेस्टिवल भारतको एक यस्तो प्रतिष्ठित संस्था हो, जसले भारतका विभिन्न क्षेत्रमा आवद्ध विशिष्ट स्रष्टाहरूलाईं सम्मानित गर्दैआएको छ । झन्डैझन्डै एकै उद्देश्य र गतिविधिमा सञ्चालित यी दुई संस्थाहरूबीचको यस मित्रताले आगामी दिनमा दुवै देशको साहित्यिक, सांस्कृतिक तथा कलात्मक गतिविधि अझ सक्रिय हुने र यी क्षेत्रको सम्बद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।