समाचार

दुईसरो कपडामा
बब्ली मधेसबाट काठमाडौं उक्लेको दिन
बसपार्कको भींडमा वाकवाकी सम्हाल्दै
बब्लीलाई लागेको थियो–
यस्तो खण्डहर सहरमा अब कसरी बाच्ने ?
यहाँ त धरहरा रहेछ
उसको गाउँमा मचान हुन्थ्यो
यहाँ त टुँडिखेल रहेछ
उसको गाउँमा आँगन हुन्थ्यो
बब्लीको मनमा थियो
सहरमा अलि अलि कमाउँछु
अनि गाउँ फर्केर सानो परिवार बस्ने घर बनाउँछु
बाको औषधि खर्च जुटाउनेछु
बहिनीलाई जिन्स र कुर्था पठाइदिनेछु
बागमती किनारमा बब्लीले जसो तसो बाँसको बास बनाई
बल्लतल्ल बनेको टहरोमा अब आगो बाल्नु थियो
उसलाई त गाउँको जस्तै चुलो बनाउन मन थियो
खाना खाएपछि सर्लक्क लिपेर च्याट बनाउन सकिने
सहरमा त धुवैँधुवाँ निकाल्ने स्टोभ पाइयो
यही चलेगा
बब्लीलाई अब काम चाहियो
मधेसमा हुँदा विस्ट मेडमको घरमा खाएको सुन्तलाको स्वाद
उसले कहिल्यै भुल्न सकिन
काठमाडौंमा त सुन्तला जति पनि पाइन्छ
यही सुन्तला ठेलामा बेचम क्या हो ? उसले सोची
बब्लीले रत्नपार्कको शान्ति वाटिकामा एउटा ठेला राखी
ठेलामा लहरै मिलाएर सुन्तला राखी
साँझतिर सुन्तला किन्न आउने च्याठिएका ग्राहकहरु
सुन्तला हातमा खेलाउँदै सोध्थे–
सुन्तला भन्दा साहुनी मीठो जस्तो छ
रेट कति हो साहुनी ?
बब्लीलाई तिनीहरुको जिब्रो थुतिदिन मन लाग्थ्यो
तर फेरि,
महानगरको डोजर कतिबेला उसको टहरो भत्काउन पुग्ने हो भन्ने त्रासमा
ऊ ठेला ठेली हाल्थी
महानगरको डोजरले बब्लीले टहराको गल्लीमा जतन साथ रोपेको मनी प्लान्ट उखेली दिँदा
उसलाई मधेसको गर्मी बराबरको रिस उठ्थ्यो
डोजरलाई बागमतीको पानी छ्यापिदिन मन लाग्थ्यो
डोजर धेरै अटेरी बन्दै गइरहेको छ
साँझ ऊ सुतेको टहरामा तर्साउन आइपुग्छ
दिनमा डोजर मालिक लाठ्ठी समातेर उसको सुन्तलाको ठेला लखेट्न आइपुग्छ
आजै बिहान
खाली पेटमै सुन्तला बेच्न गएकी बब्लीको ठेला
महानगरको पुलिसले घचेट्दै- घचेट्दै
भाग् धोतीनी भन्दै
सबै सुन्तला सडकभरि छरिदियो
ती पुलिसले बब्लीको कुर्ता च्यात्दै उसलाई गाडीमा हुले
सडकको एउटा कुनोबाट अर्को कुनोसम्म
सुन्तला गुडकिन थाले
गर्ल्याम्म पल्टिएको ठेला हेर्दै बब्ली चिच्याई–
मेरा सबै सुन्तलाहरु टिप्देऊ,
यी सुन्तला होइनन मेरा सपना हुन् ।
आइओई पोइट्री च्याम्पफोर पोइन्ट जिरोमा दोस्रो भएको कविता
अप्सरा के.सी.