समाचार

काठमाडौं र सामाजिक क्रियाकलापमा सक्रिय संस्था फ्रेस इन्टरनेसनलले ‘लैंगिक हिंसाविरुद्ध कानुन व्यवसायी र साहित्यकारहरूको भूमिका र योगदान’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार कवि विश्वविमोहन श्रेष्ठले साहित्यमा लैंगिक हिंसाबारे धेरै लेखिएको बताउँदै साहित्यले समाजलाई र्डोयाउने बताउनुभयो ।
साहित्यकार डा. गीता त्रिपाठीले फ्रेसले यस विषयमा विमर्श गरेर सराहनीय कार्य गरेको बताउँदै पछिल्लो समय लेखक कविहरू लैंगिक हिंसाविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आइरहेको बताउनुभयो । उहाँले आजका कवितामा त्यो झल्किने गरेको उल्लेख गर्नुभयो । वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले राज्यले नै विभेदपूर्ण कानुनहरू बनाइरहेको टिप्पणी गर्नुभयो । उहाँले राज्यले समानताको कुरा गर्ने गरेको भए पनि त्यस किसिमको कानुन नबनाइएको उल्लेख गर्नुभयो ।
प्रा.डा.शशि अधिकारीले नेपालमा पीडित महिलालाई जहिल्यै अनेक किसिमबाट सताइने गरिएकोले न्याय खोज्न पनि टुकी बाल्नुपर्ने अवस्था आइसकेको बताउनुभयो । उहाँले सरकारी वकिलले पीडितलाई अपमानित गर्ने र प्रहरीले भरसक जाहेरी नहोस् भन्ने दृष्टिकोणबाट काम गर्दै आएको टिप्पणी गर्नुभयो । फ्रेस इन्टरनेसनलकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक शान्ति रिसाल काफ्लेले कानुन तथा साहित्यका विविध कुराहरू स्पष्ट आऊन् भनेरै यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले फ्रेस इन्टरनेसनलकाबारेमा जानकारी दिनुभएको थियो । सो अवसरमा उपस्थित साहित्यकार तथा कानुन व्यवसायीहरूले आफ्ना धारणा राख्नुभएको थियो ।