२०७८ माघ ८ गते मण्डला थिएटर बानेश्वरमा एपेक नेपालको आयोजनामा ‘मलाई मनपरेको कविता’ शृङ्खला २ मा २० जना अग्रज कविका चर्चित कविताहरूमा २० जना अनुज कविहरूले प्रस्तुती दिए । गिटारवादक अनुराग थापा र प्रशन्न हुमागाईंको बाँसुरीवादनमा कविताहरू मन्चमा प्रस्तुत गर्दा कविता श्रवणको आनन्द अलौकिक बनेको थियो । कर्णप्रिय धुन र कविताको फरक स्वरमा आफैँलाई सुनिँदा कवि आफैँ दंग र मग्न बनेका थिए । कार्यक्रम सञ्चालन कवि रुपेश श्रेष्ठले गोलाप्रथाद्वारा नाम छानेर बोलाउँथे र अनुज कविले अग्रज कविलाई मन्चमा डोयाई ढाकाको सलले स्वागत गरेर बसाएपछि कवितावाचन गरिएको थियो ।
वरिष्ठ कविहरु मध्ये निमेष निखिलले श्यामलको कविता, अनिता न्यौपानेले राजेन्द्र शलभको कविता, रन्जना निरौलाले स्नेह सायमीको कविता, बाबा बस्नेतले मन्जुलको, बाबू त्रिपाठीले वसन्त चौधरीको, विमल वैद्यले बैरागी काँइलाको, मोमिलाले तुलसी दिवसको कविता, छविरमण सिलवालले नरेन्द्रबहादुर श्रेष्ठको, विवश पोखरेलले प्रमोद प्रधानको कविता, छवि अनित्यले अशेष मल्लको कविता, डा. गीता त्रिपाठीले उषा शेरचनको ‘पानीको रंग कविता, मणि लोहनीले शैलेन्द्र साकारको कविता ‘हेमन्त शिशिरले विधान आचार्यको कविता, ‘प्रज्वल अधिकारीले दिनेश अधिकारीको, दीप दर्पणले रमण घिमिरेको, सविता विमलीले सुलोचना मानन्धरको कविता, ‘सन्ध्या पहाडीले कृष्ण प्रसाईंको कविता, प्रकाश समीरले विश्वविमोहन श्रेष्ठको, रीमा केसीले लक्ष्मी मालीको कविता, गीता कार्कीले विष्णुविभु घिमिरेको कवितालाई मन्चस्थ गरेका थिए । प्रेक्षालयमा कविता सुन्न बसेका श्रोताहरू मन्त्रमुग्ध भएका थिए । हल ध्यानशिविर जस्तै र अनुभूति कवितामय भएको थियो ।
एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठबाट सबै कवि र कविता प्रेमीलाई धन्यवाद दिँदै यो शृङ्खला केही कविहरू छुट्नु भएको र ती कुरा याद गर्दै आगामी तेस्रो शृङ्खलामा समेट्ने बाचा गरेका थिए । साथै पछिल्ला पुस्ताका कविहरुलाई समेटेर यस्तै कार्यक्रम गर्ने समेत घोषणा गरेका थिए । साढे दुई घन्टा बढी चलेको उक्त कार्यक्रम अत्यन्तै सभ्य र भव्य रहेको थियो । चलचित्र निर्देशक तथा कवि राजेन्द्र सलभले यस कार्यक्रमको सम्पूर्ण संयोजन गरेका थिए । कवि शलभ बाबू त्रिपाठी र निमेषविमोहन श्रेष्ठको व्यवस्थापनमा कार्यक्रमका लागि तीन दिन अभ्यास गरेपछि कविहरूलाई मन्चमा उतारिएको कुरा जानकारी गराइएको थियो । मन्च परिकल्पना राजन खतिवडाले गरेका थिए ।