• २०८१ असार १ शुक्रबार

“साँझको घाम र आमाघरका आमाहरु”

लक्ष्मी माली

लक्ष्मी माली

जब म साँझ पश्चिमतीर
अस्ताउन लागेको सूर्यलाई हेर्छु
अनी ती आमाहरुलाई नियाल्छु
बस !
उस्तै उस्तै लाग्छ मलाई ।

त्यो डाँडा माथिको घाम
मलिन तेज
सुकसुकाउँदो अधर
लोलाएका नजर
मधुरो हाँसो
शिशिरको रुख जस्तै उदास उदास
केही गर्न बाकी जस्तो
केही भन्न बाँकी जस्तो
अनुभवका खानी
सागर जस्तै गहिरो
केही थाके थाके जस्तो
केही हराए हराए जस्तो
केही दिइरहे जस्तो
केही भनिरहे जस्तो
कोहीसँग केही गुनासो छैन,
तर सन्तुष्टी पनि देखिन्दैन
बस ! ससम्मान
विदा मागिरेह जस्तो
साँझको घाम र ती आमाहरु
बस ! उस्तै उस्तै लाग्छ मलाई ।

मलाई सोध्न मन लाग्छ,
चिच्याई चिच्याई
आफैले जन्माएका सन्तानहरु हुँदाहुँदै
किन बिबस छन् तीआमाहरु
आमाघर जस्तोमा बस्न ?


(माली स्थापित साहित्यकार हुन् ।)