कविता

२७ नोभेम्बर, हङकङ
हङकङबासी साहित्यकार नरजित राईको कवितासंग्रह “मनका नदीहरू” को लोकार्पण कार्यक्रम आइतबार सम्पन्न गरिएको छ । हङकङ साहित्यिक साझा श्रंखलाले कवितासंग्रहको प्रकाशनको आयोजना गरेको हो ।कार्यक्रम संयोजक रमण गुरूङ, प्रमुख अतिथि साहित्य श्रृंखलाकै संरक्षक साहित्यकार दाजु गुरूङ, “मनका नदीहरू” कृतिका कृतिकार नरजित राई, कृतिका समीक्षक तथा साहित्य श्रृंखलाका सल्लाहकार बज्र कुमार राई तथा विशेष अतिथिका रूपमा ड्यासमा रहेका किरात राई यायोक्खा हङकङ, प्रज्ञा प्रतिष्ठानका कुलपति शशी मदन राई र समाजसेवी पिताम्बर राईद्धारा संयुक्तरूपमा कवितासंग्रहको लोकार्पण गरिएको थियो ।
साहित्य श्रृंखलाका सल्लाहकार सुनिता गिरीद्धारा स्वागत मन्तब्य राखिएको उक्त कार्यक्रमका सभापति रमण गुरूङ, प्रमुख अतिथि दाजु गुरूङका साथै अन्य अतिथिहरू शशीमदन राई, समाजसेवी पिताम्बर राई, चित्रकार, साहित्यकार एवं साहित्य श्रृंखलाका सल्लाहकार दिपेन्द्र राई, साहित्यकार किन्दर राई, समाजसेवी वसन्त राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । साहित्य श्रृंखलाका सल्लाहकार समेत रहेका साहित्यकार बज्र कुमार राईले पुस्तकमाथि समीक्षा राखेका थिए ।
हङकङ जस्तो अतिनै व्यस्त ठाउँमा बसेर पाँचौ कृतिकारूपमा “मनका नदीहरू”ल्याउनु आफैँमा ठूलो उपलब्धि रहेको र यसले हङकङको नेपाली साहित्य क्षेत्रमा एउटा ईटा थप्ने कार्य गरेको बताउँदै “मनका नदीहरू”भित्र एकदमै सरल अनि सरस कविताहरू रहेको कृतिका समीक्षक बज्र कुमार राईले बताए । कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरू पूर्णिमा शाह, अरूणा शर्मा, जुनु राना मगर, नारायण भण्डारी, बिना राई लगायतले विमोचित कवितासंग्रह “मनका नदीहरू” भित्रबाटै कवितावचन गरेर कार्यक्रमलाई थप साहित्यमय बनाएका थिए ।
दुई नियात्रा, एक संस्मरण र एक कविता संग्रह पछि पाँचौं कृतिका रूपमा “मनका नदीहरू” कवितासंग्रह पाठकहरू समक्ष ल्याएका कवि तथा साहित्यकार राईको उक्त संग्रहमा ७२ वटा कविताहरू पढ्न पाइन्छन् ।जोर्डनस्थित चुम्लुङ हिममा ११४ औं साहित्य श्रृंखला विशेष आयोजित उक्त पुस्तक लोकार्पण कार्यक्रमलाई साहित्य श्रृंखलाका सल्लाहकार समेत रहेका साहित्यकार डी.बी. पालुङ्वाले संचालन गरेका थिए । नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १० वर्ष यता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरू भेला भई साहित्यिक विचार-विमर्श, सृजनावाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरूलाई सम्मान समेत गर्दै आइरहेको छ ।