अनुभूति

बिदा हुँदैहुँदै गएको त्यो घाम
फर्किएर आइरहेका डुङ्गा
पन्छीको फिर्ती उडान
अलिक पर क्षितिजबाट
ओर्लिरहेको साँझ
म एक्लै छु प्रकृतिको साथ
पश्चिमी काखमा
पहेँला घामका किरणहरू बसे
गर्दै दिनको अन्त्य
जूनताराले आउन कम्मर कसे
नदी किनारको यो पल
म एक्लै छु प्रकृतिको साथ
घाम र रातको त्यो
सुमधुर आलिङ्गन
सन्ध्या र दिनको मधुर क्षण
हृदयमा यौटा दियो जल्यो
जीवनको यौटा दिन ढल्यो
पश्चिमी काखमा
पहेँला घाम बसे
नदी किनारको यो पल
म एक्लै छु प्रकृतिको साथ
सुस्तसुस्त विस्तृत भयो अँध्यारो
प्रकृतिलाई घुम्टो ओढायो
त्यो कालो
आकाश चमचमाउँदै
बुट्टा बने
आफ्नै छायाँ
रातसँगसँगै बदलियो
जीवनको यौटा घाम डुब्यो
आफ्नै प्रक्रियाले बग्यो
र
बगिरह्यो
असमर्थताका हरेक
पलहरू स्मृति बने
र
बसे मनमा
रात आफैँमा मस्त हिँडिरह्यो
जीवनको यौटा जुन डुबाउन
नदी किनारको त्यो पल
म एक्लै छु प्रकृतिको साथ !!
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)