समाचार
त्यो संवेदनाहीन, त्यो दयनीय मान्छे
हिजो एक्कासि ठोकियो मेरो नजरमा,
जो विगतदेखि पहिचानकै थियो।
बेला–बेला मेरो बालमस्तिष्कले
उसलाई विद्वान जस्तो देख्दथ्यो।
बेला–बेला ऊ ठूलोको पनि
ठूलो बनेर आवाजहरू फैलाउँदथ्यो ।
मधुर बोली मात्र होइन,
उसले त समाजमा एउटा
शिक्षक पेशा समेत अँगालेर,
नेताजस्तै साह्रै सामाजिक बनेर
पनि देखिएको थियो !!
तर, जब नजिकबाट आज धेरै समयको
अन्तरालमा त्यो पात्रसँग
जम्काभेट हुन पुग्यो,
उसले सानोमा गफ लगाउने
जस्तो मानिस बन्न म सकेँ कि
सकिनँ, थाहा छैन।
तर, मेरो सफलता देखेपछि
उसको ठूलो भन्ने सोच
सङ्कीर्ण भइसकेछ।
उसले कुनै खुसीको भाव जाहेर गरेन ।
ऊ बोल्छ- एउटा परमात्माको
काखमा पुगेको मानव, त्यो पनि
नारी,
झन्डै उसको छोरी समानको पात्र,
अन्तिम अवस्थामा
रोगले दिमागी हालत बिग्रेको,
सबैजना जानकार थिए ।
तर उसले अनभिज्ञताको शैलीमा
जुन प्रहार ग¥यो,
त्यो उसको तिक्तता, रुष्टपना,
ईष्र्या के थियो, उसैलाई थाहा होला ।
तर मैले त्यो बिरामी पात्रलाई,
बितिसकेको, अविवाहित, सच्चा स्वरूपकी
नारी पात्रलाई भनेको
सुन्न सक्ने अवस्था रहेन ।
ओहो !!
समाजका शिक्षित मस्तिष्कभित्र पनि
यस्तो फोहोरी, कुरूप सोच !
जहाँ एउटा अर्को गाउँकी नारी पात्र
प्रति यति कलुषित धारणा !
जघन्य अपराधी नै भए पनि
उसले आफ्नो सन्तान वा नजिकको
कोहीलाई यस्ता शब्दले चरित्र
दोहन गर्न सक्छ र ??
सच्चै संवेदनाहीन बनेको हो समाज
आज भोलि ? कि
एउटा गलत मस्तिष्क,
हेर्दा आवरणमा राम्रो,
आत्माको घिनलाग्दो रूपका
यस्तै पात्रबाट समाज डोरिँदै जाने हो भने,
कहाँ पुग्छ होला न्यायका
आवाजहरू !!
जीवित हुँदा राम्रो हुँदा
एक शब्द “आहा !“ भन्न नसक्ने,
अथवा स्वार्थकेन्द्रित भेटेमा
अति नै प्यारो बन्न सक्ने ।
आफूलाई फाइदा हुँदैन,
अब बितिसक्यो भनेपछि
त यहाँ मान्छेले
मरिसकेकोलाई समेत नछोड्ने रहेछन् ।
धर्तीबाट बिदा लिएको पात्र,
एक नारी किशोरीले आफ्नै बाबा–आमासँग
पनि बिरामी भएर
रुन, कराउन नपाउने ।
जसले उसको घरमा एक दिन उसको सेवा ग¥यो होला,
एक दिन होइन, वर्षौँको त्यो सम्बन्धको
अन्तिम बिन्दु के हो ??
के मानिस अब शक्ति र सोचको बन्धक
बनेर संवेदनाहीन बन्न आँटेको हो ?
नत्र यति गिरेर अर्को पात्र,
जसले आफूलाई प्रत्यक्ष
केही असर पु¥याएको छैन,
संसारबाट रोग लागेर बितिसकेको छ,
आफ्नो छोरीको उमेरको छ,
आफूले सेवा गरेको पनि छैन भने,
यति क्रूर, घृणात्मक अभिव्यक्ति दिन
हतार गर्छ मान्छे ??
माफ गर, प्रिय साथी ।
म आज संवेदनाहीन
मानवलाई भन्ने शब्दकोश
त्यो बेला यति शून्य भयो कि,
मैले त्यो नरभक्षी सोचको मुख हेर्दा,
राम्रो पेशा, अरूलाई शिक्षा दिने भएर पनि
यति क्रूर मानव पनि
यो सृष्टिमा रहेछ ।
म लज्जित छु।
सायद धर्तीभन्दा टाढा रहेर पनि
तिमीले सुनेकी हौली उसले बोलेको ।
सक्छौ भने माफ गरिदेऊ।
तर उसले रोपेको फल
कुनै दिन आफ्नै आँगनमा फल्यो भने भनेर
नसोच्ने त्यो प्राणीलाई
ईश्वरले पनि नजर राख्नु होला, सायद ।
सुशिला शर्मा (शिलु)