सिन्धुली- सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान, जस्पुर तनहुँले प्रकाशन गरेको स्मारिका ‘वंशु गुरुङ’ विमोचन गरिएको छ । २५५ औं सिन्धुली गढी विजयोत्सवको अवसरमा सिन्धुली गढीमा आयोजित समारोहमा कमलामाई नगरपालिकाका प्रमुख उज्वल पोखरेलले सो स्मारिका लोकार्पण गरेका हुन् । कार्यक्रममा उपप्रमुख मञ्जु देवकोटा, गढी र इतिहास सम्बन्धी खोज अनुसन्धान गर्दै आएका नेपाली सेनाका पूर्वसहायक रथी प्रेम बस्न्यात, साहित्यकार सुमलकुमार गुरुङ, अभियन्ता अमर लेम, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, प्रतिष्ठानका अध्यक्ष क्यालालजंग गुरुङलगायत प्रतिष्ठानका पदाधिकारीको उपस्थिति थियो ।
प्रतिष्ठानले प्रकाशन गरेको स्मारिकाले वंशु गुरुङलगायत सिन्धुलीगढी युद्धका वीर योद्धाहरुको गरिमालाई उच्च बनाउन सघाउ र्पुयाउने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो । प्रतिष्ठानले पहिलोपटक प्रकाशन गरेको स्मारिकामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङलगायतले शुभकामना दिएका छन् । स्मारिकामा गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कमलामाई नगरपाकिाका पहिलो अध्यक्ष खड्ग खत्री, प्रेम बस्न्यात, सुमलकुमार गुरुङ, राजकुमार दिक्पाललगायत लेखक तथा पत्रकारले स्मारिकामा इतिहास र वंशुका योगदानबारे लेखेका छन् ।