• २०८१ फागुन १ बिहीबार

सद्भाव

धनराज गिरी

धनराज गिरी

चुनावी छ भाषा न गोरो न कालो
निराशा न आशा छ बाटो उकालो
म सद्भाव बोकी सखा आज आएँ
म नेपालवादी यही गीत गाएँ !

गरी मेल सारा बढे हुन्छ हामी
यही एकतामा हुने अग्रगामी
सबै रङ्ग मिल्दा सुखी जिन्दगानी
मिलेको छ मान्छे सुनाई कहानी !

छ सद्भाव धेरै उता पोखरामा
उज्यालो उज्यालो हियाको कुनामा
हरे खेल सानो चुनावी कुरा हो
गरे मेल राम्रो सखा हो भुरा हो !

हिमाली छ हावा यता स्वच्छ पानी
पहाडी गरामा फुली जिन्दगानी
सबै भाइ बैनी सबै मित्र मेरा
सबै दाइ काका छ आफन्त घेरा !

न ताली न गाली अरे बन्धु सारा
लडे हेर आफ्नै बगे अश्रुधारा
म नेपाल आमा हँसाएर जाने
खुवाएर सारा मिली खीर खाने !!


धनराज गिरी