गीत
क्यालिफोर्निया ।
साहित्यकार तथा कृषि वैज्ञानिक डा.जीत बरालको संस्मरणात्मक कृति ‘गाँस, वास र जिन्दगी’ अमेरिकाको क्यालिफोर्नियामा सार्वजनिक गरिएको छ । मे ३० मा सेक्रामेन्टोमा आयोजित एक समारोहबीच कृतिको लोकार्पण गरिएको हो । यसअघि ‘द्यभथयलम तजभ द्यचभबम’ शीर्षकमा अङ्ग्रेजी भाषामा प्रकाशित उक्त कृतिको नेपाली अनुवाद कवि शरद ऋतुले गर्नुभएको हो ।
कृतिको लोकार्पण लेखक डा. जीत बराल, समालोचक महेश पौड्याल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, साहित्यकार सन्ध्या पहाडी, निलुकृष्ण गिरीलगायत सेक्रामेन्टोवासी कवि तथा साहित्यकारहरूले संयुक्त रूपमा गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले बराललाई सङ्घर्ष र अठोटबाट स्थापित स्रष्टाका रूपमा चित्रित गर्दै उहाँको दृढता, सङ्कल्प र आत्मविश्वासको प्रशंसा गर्नुभयो ।
समालोचक महेश पौड्यालले बरालको जीवनयात्रा धेरैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रतिकूल परिस्थितिलाई शक्ति र ऊर्जामा रूपान्तरण गर्ने उहाँको क्षमता अनुकरणीय रहेको बताउनुभयो । कार्यक्रममा साहित्यकार निलुकृष्ण गिरीले कृतिका अंश वाचन गर्नुभएको थियो । लेखक बरालले आफ्नो मन्तव्यमा अमेरिकाको जीवन केवल सङ्घर्षको कथा मात्र नभई अवसरहरूको भूमि पनि भएको सन्देश कृतिमार्फत प्रस्तुत गर्न खोजिएको बताउनुभयो । कार्यक्रमका अवसरमा उपस्थित साहित्यकारहरूले आफ्ना काव्यरचनासमेत वाचन गर्नुभएको थियो । ‘गाँस, वास र जिन्दगी’ काठमाडौंस्थित पेज टर्नर प्रकाशनबाट प्रकाशित कृति हो ।
