कविता

एक विशेष कार्यक्रममा
बोल्दै छु म
गर्वका साथ भन्छु म आज
मेरो जेठो छोरो डाक्टर हो
मासिक पन्ध्र लाख कमाउँछ
मेरी जेठी बुहारी नर्स हो
महिनाको एघार लाख कमाउँछे
मेरो माइलो छोरो इन्जिनियर हो
मासिक चौध लाख कमाइ छ उसको
माइली बुहारी पनि इन्जिनियर नै हो
दस लाख कमाउँछे मासिक उसले
साइँलो छोरो पाइलट हो
उसको कमाइ मासिक अठार लाख
साइँली बुहारी प्रोफेसर हो
सत्र लाख छ उसको मासिक कमाइ
कान्छो छोरोको त झन कुरै छाडौँ
ऊ त राजदूत छ
उसले मासिक पन्ध्र लाख कमाउँछ
कान्छी बुहारी पनि राजदूत नै हो
उसको कमाइ मासिक एघार लाख
सुन्दै जानुस् ,
गर्वका साथ भन्छु म आज
मेरी जेठी छोरी इन्जिनियर ज्वाइँ डाक्टर
उनीहरू कमाउँछन् मासिक साठी लाख
मेरी माइली छोरी प्रोफेसर ज्वाइँ पाइलट
कमाउँछन् उनीहरू मासिक पचास लाख
मेरी साइँली छोरी राजदूत ज्वाइँ इन्जिनियर
कमाउँछन् उनीहरू मासिक सत्तरी लाख
मेरी कान्छी छोरी नर्स ज्वाइँ डाक्टर
उनीहरू कमाउँछन् महिनाको पचपन्न लाख
गर्वका साथ भन्छु म आज
म कति धनी छु
मेरी जेठी छोरी अष्ट्रेलियामा छे
मेरी माइली छोरी चाइनामा छे
मेरी साइँली छोरी फ्रान्समा छे
मेरी कान्छी छोरी बेल्जियममा छे
गर्वका साथ भन्छु म आज
मेरो जेठो छोरो अमेरिकामा छ
मेरो माइलो छोरो जापानमा छ
मेरो साइँलो छोरो बेलायतमा छ
मेरो कान्छो छोरो जर्मनीमा छ
दर्शक माझबाट सोध्छन् एक व्यक्तिले
“अनि तपाई चाहिँ कहाँ हुनुहुन्छ ?”
मेरो जवाफ हुन्छ
“बृद्धाश्रममा”
डम्बर बिकल
गोकर्णेश्वर- ८ काठमाण्डौ, मो नं. ९८४३१४८९९३
[email protected]