आमा नभएको वेला
हुन त केही फरक पर्दैन
बुबा अफिस जानु हुन्छ
हजुरआमा माला घुमाइरहनुहुन्छ
मनु क्याम्पस जान्छ
सबैथोक हुन्छ
तर केही नभएजस्तो
चियामा चिनी नभएजस्तो ।
आमा नभएको वेला
राती ढिला घर फर्किंदा पनि
मनुलाई कसैले गाली गर्दैन
अधीर मनस्थितिले घरिघरि
झ्यालबाट कसैले चिहाउँदैन
घडीका सुईहरू भाला-तलवारजस्तो घोच्दैनन्
कसैका व्याकुल आँखाहरूबाट
झर्नझर्नै लागेका अदृश्य आँसुका मालाहरू
टिल्पिलाउँदैनन् ।
घाँटीमै अड्किएको रूदन- मिश्रित
रिसलाई पोको पारेर
कसैले सोध्दैन मनुलाई-
‘थाक्यौ होला छोरा, खाना पस्कौँ ?’
आमा नभएको वेला
बिहान त्यसरी नै उदाउँछ
तर पूजाकोठामा बसेकी हजुरआमाले
दियोमा बाल्ने बाती भेट्नुहुन्न
भगवानले प्रसादमा लड्डु पाउनु हुन्न
बुबाले गन्जी, पर्स, चाबी भेट्नु हुन्न
भान्साबाट झानेको वासनासँगै
डढेको तरकारीको गन्ध पनि मिसिएर आउँछ ।
चराहरूका लागि राखेको पानी
यत्तिकै सुकेर जान्छ
पक्षीहरू केही नखाई उड्छन्
र मठको तुलसी सुकिसक्छ ।
जब आमा हुनुहुन्न
तब हुन त केही हुँदैन
अर्थात
साँचै केही पनि हुँदैन ।
अनुवाद: राजेन्द्र शलभ