• २०८० मंसिर १३ बुधबार

खसीको मासु

ललिता ‘दोषी’

ललिता ‘दोषी’

पहाडसरि गरिबीको पीडा निल्दै हिँडेका मानबहादुरको मन ठूलो थियो । ‘सेवा नै धर्म हो’ भन्ने भनाइलाई उनी कहिल्यै भुल्दैनथे । धेरै नभएपनि दिनको दस-बिस रुपियाँ गरिबहरूलाई दान गरेकै हुन्थे । एक दिन उनी अफिसबाट डेरा आउन बानेश्वरको आकाशे पुलमा चढे । साँझ झमक्क परेको थियो । पुलको आधाआधीमा पुग्दा उनले एउटा वृद्धले ‘मलाई सहयोग गर्नुहोस्’ भनेको सुनेर आफ्नो पर्स हेरे । पर्समा पचास रुपियाँमात्र रहेछ । उनले घरमा तरकारी नभएको सम्झे । के गरौँ, के नगरौँ भनी दोधारमा परे । जे त होस्, गुन्द्रुक खाउँला भन्दै पैसा दिन हातमात्र के बढाएका थिए । माग्ने वृद्ध जुरुक्क उठेर पकेटबाट मोबाइल झिके अनि अलि रिसाएको स्वरमा भने- ‘‘हैन तिम्रा बाजेलाई कति फोन गरेको हँ ? अहिले दाताहरूले देखे भने…।

मानबहादुर वृद्धको नजिक गएर उनको कुरा सुने । उनी भन्दै थिए- ‘हैन, अस्तिमात्र खाएको होइन खसीको मासु, कति खानुपर्ने हँ ? एक किलो किन नि ? ए ए, तेरी आमालाई कबाफ खान मन लाग्यो रे  । ल..ल म आइहालेँ ।’’ खसीको मासुको नाम सुनेर मानबहादुरको मुखभरि पानी आयो । उनले छ महिना अगाडि साथीको छोराको विवाहमा टन्न खसीको मासु खाएको सम्झे । पचास रुपियाँ बचाइ दिएकोमा भगवानलाई धन्यवाद भन्दै, पैसा ओल्टाई पल्टाई हेरेर मानबहादुरले टम्म मुठी कसे ।


ललिता ‘दोषी’ बुद्धनगर काठमाडौँ