कविता

त्यो मेटिने छैन
जसलाई म अदृश्यमा पाउँछु
आँसुले चोखिएको आँखा
वियोगमा पनि संयोग देख्छ
तिम्रो मेरो बीचको
विरहको धर्सोमा
शून्यले सुन्दर कविता लेख्छ
धन्य हो बिछोड !
जसमा म सरस बाँच्छु
बलिदान सँगै वीरत्व साट्छु ।
लिएको तृप्ति त्यसैले पाउँछ
जसले समर्पणको
अटल गहिराइ छुन्छ ।
बेहिसाब नै
मायाको सुन्दर हिसाब हो
मुख्य कुरो बाँच्नु हो
बाँच्नु, रस साँच्नु हो ।
निराश नैहोस्
म सरस सास फेर्छु
तिम्रो माया त्यो छहारी हो
जहाँ आगोले नै
म जीवनको भ्रम केर्छु ।
मायामै डुबुल्किँदा पो बुझेँ
मेरो मायामा त खोट पो रहेछ
जसलाई आजसम्म खुसी ठानेँ
त्यो त हृदयमा परेको चोट पो रहेछ ।
साभार: वसन्त (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)