• २०८१ फागुन २ शुक्रबार

उपहार

पबित्रा अधिकारी

पबित्रा अधिकारी

प्रिय मनहरू
नव वर्षको अघिल्लो दिन
एक फिलुङगो आगो
तिमीलाई उपहारमा ल्याएको छु
अगेनुमा हुर्काएर तातो
हरेक सन्ध्यामा बालि रहनु दीपक
तिम्रो त्यो आगो हेर्नलाई अँधेरी आइरहने छ।

न निभाउनु फिलुङ्गो
सन्ध्याले आकाशे चुलोमा आगोका फिलिङ्गो हुर्काए झैँ
तिमी पनि हुर्काएइ रहनु
अलि कति इर्ष्या
अलि कति अहमको चिर्कटो चोइटयाउँदै
तिमी सल्काइरहनु आगो
अनि फर्कनु अघि थपेर जानु
फिलिङ्गोहरू
हुर्काइरहोस त्यसले तिम्रो रापिलो आकृति
किनकि एकदिन तिमीलाई तारा बनेर फर्कनु छ
धर्ती हेर्न

हो त्यति बेला सबैभन्दा प्रियलाग्ने छ त्यही फिल्ङ्किो
सल्काइ रहनु
किनकि ताराहरूले जलाउने छैनन धर्तीका चिताहरू
सदियौँदेखि बीज फिलिङ्गो सेता खरानीका फूलहरूमा लुकाएर
फुलाईरहनु उज्यालो फूल
नव वर्षको तिमीलाई शुभकामना ।


पबित्राअधिकारी
[email protected]