• २०८२ माघ ६, मंगलवार

गीत

 तीर्थ श्रेष्ठ

तीर्थ श्रेष्ठ

तिम्रो र मेरो बिर्सनै नसकिने यस्तो कहानी होस्
प्यास मलाई होस्, अञ्जुलीमा तिम्रो पानी होस्

बिहानै उठूँ र आँखाभरि हिमाल राखेर मुस्कुराऊँ
त्यही मुस्कानमा तिमीलाई राखेर हेर्ने बानी होस्

वसन्तमै मात्र फुल्नु र फक्रनु भन्ने के छ र यहाँ
नदीको लहरझैँ फर्कीफर्की आउने जवानी होस्

स्वर्गको कुरा नगर्नू, सँगसँगै नरकको नाम आउँछ
आनन्दको उत्कर्ष यहाँ तिम्रो काखको सिरानी होस्

भुल्नै नसकिनेलाई सम्झिरहन्छु भन्नुको के मतलब
बिर्सने कुरा पनि बिर्सिदिन्छु चाहे देह यो खरानी होस्


तीर्थ श्रेष्ठ
[email protected]