• २०७९ मंसिर २१ बुधबार

अवशेषको तृष्णा

बसन्त चौधरी

बसन्त चौधरी

यताउता पोखिएका छन्
मनका अवशेषहरू
समेट्दै अलमलिन्छु म
रहरका भग्नावशेषहरू
प्राप्तिको शिखरबाट
ओरालो लाग्छ वसन्त
म हिउँ बनेर चुलिइरहन्छु
चिसो हिउँ
जतिवेला पनि पग्लन सक्छ !

अवशेष बाहेक
केही–केही छैन मसँग
अवशेषको शेष स्वादमा
भोक उठ्नेगर्छ र दिनेगर्छ
जीवित हुनुको प्रमाण
त्यही भोकले प्रेम गरेको वेला
रुन्छन् जीवनका गीतहरू
बुन्छन् दुःखले प्रीतहरू
उम्रिन्छन् र कुहिन्छन्
अर्थनबर्थका सपनाहरू

तर समुद्र कहिले खाली हुन्न !

म समुद्र !
गम्भीर भएर बसेको
मभित्र यौटा समुद्र छ,
डुबाइरहन्छ हरेक पल
तर उसको अस्तित्व तृप्तिविहीन छ
म समुद्र भएर सधैँ प्यासी !!

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)