• २०८२ बैशाख १४ आइतबार

जिजीविषा

गीता कार्की

गीता कार्की

यतैतिर होलान्
मैले तिमीसँग साटेका सपनाहरू
यतै कतै पोखिएको हुँदो हो !
मेरो पोल्टाबाट ठेट्ना रहर

मजस्तै यो पर्वत र
उसका साक्षी रुखहरूलाई थाहा होलान्
जूनको छायाँमा एक्लै गाएका गीतहरू

यो भद्रगोल मैदानमा
म खोजिरहेछु
तिनै पूर्वज आभूषण

जिन्दगी नमिलेको पाटो सम्याएर
जब म फूलहरू रोप्न खोज्छु
मेरो जीवनको तालमा
पक्षीहरूले लय दिन्छन्
आकाशले चँदुवा टाङ्छ
र मेरो शीरमाथि फुल्छ
जिजीविषाको श्वेतकमल

ममाथि उडिहिँड्ने परीजस्तै
ए ! चाँदनी !!
म तिमीसँग जिउनुको
मात पिइरहेछु
जीवन नशा हो या उन्माद !!
तिमी नै छौ
जीवनले हारेका वाचाहरूसँग…
तिमी नै
मसँग केवल आँखाहरू छन्
आँखाबाट बगिरहने नदी छैन
जीवनसँग संवाद गर्ने भाकाहरू छन्
निराशामा पोखिएको तर्पण छैन

नखोल्नू मेरो मनको ढोका यस बेला
कोही पराई आएर
नआउनू मेरो मनको संसारमा
रात–विरात

म आफैँसँग मदहोस छु
जिउनुको नसा पिएर
अबेरसम्म जिऊँ या निदाऊँ ?
यो धरतीको शान्त काखमा

ए ’ चाँदनी !!
म जिउनुको मात पिइरहेछु
जीवन नसा हो या उमाद !!