हावाले ठेलेर छाल बनिदैं छिनछिनमा ठोक्किंदा ठोक्किंदा तिनका पनि आँशु आए होलान् । त्यसैले होला, ती नुनिला थिए, आँशु जस्तै ।
२०१९ जुलाई ९ अर्थात् असार २४ गतेका दिन हामी अष्ट्रेलियाको सिडनी हार्वर, ओपेरा हाउस र मान्ले विच को भ्रमणका लागि सिडनीको लिभरपुबाट सिटीतर्फ लाग्यौं । छोरी ज्वाईका साथमा हामीलाई आतिथ्यता दिने रूपक भाइकी धर्मपत्नी सरला पनि थिइन् । हामी हार्वरबाट डुङ्गा चढेर मान्ले बिचतिर लाग्यौं । समुद्रको त्यो सानो भागबाट पर क्षितिजमा देखिने मान्ले टापुतिर हामी जाँदै थियौं । दुईतिर टापु, बीचमा समुद्रको भङ्गालो । त्यही भङ्गालो थियो हामीहरूको राजमार्ग ! अर्थात् पानीको राजमार्ग !
हजारौं मानिसहरू त्यही पानीमाथि तैरिएर मान्ले विच पुग्दारहेछन् । हामी पनि थपियौं । पानीलाई थोरै भए पनि भार थप्न पुग्यौं । मानिसहरूको भीडका अनेकौं कथाहरू थिए । भीडमा मान्छे थिए । मान्छेमा भीड थिए । पानीमाथि पैसा तिराएर हिंडाउँदै भीड जम्मा गराएर पैसा अशुल्ने त्यो देश ‘जी ८’ को उपाधीको ताज पहिरिरहेको थियो । विश्वका अनेक मुलुकबाट भ्रमण गर्न आउनेहरूको सङ्गम रहेछ त्यो ठाउँ । एक जना जर्मन युवा मेरो छेउमा बसिरहेका थिए । तिनले मेरो लवजमा रमाउन खोजे । बर्लिनको कुरा झिक्दा नरमाइलो माने । होलोकोष्टको कुरा गर्न मन भएर पनि निकालिनँ ।
कहाली लाग्दो इतिहास उनीहरू संझन चाहँदा रहेनछन् । त्यो तिनको कहाली लाग्दो इतिहासले तिनको शीर झुकाएको रहेछ ।
मान्छेको शिकार खेल्ने इतिहासलाई ‘महान’, ‘गौरवशाली’ भनेको सुन्न बानी परेका मेरा कान जस्ता होइन रहेछन् तिनका कान ।
तिनका कान हेरें, लामा लामा थिए ।
इतिहास जताततै फलाक्ने चिज पनि होइन रहेछ भन्ने लाग्यो ।
उनीलाई मन पर्ने कुरा गर्नु पर्ने भयो । यस्तै महसुस गरें ।
र फुटबलको कुरा झिकें ।
मेरो मन पर्ने (र छोरीको पनि) फुटबल टिम जर्मनी हो भनेपछि उनी मुस्कुराए ।
‘जर्मनी विल विन नेक्सट वल्र्ड कप’, प्याच्च बोलें ।
‘बट वी ह्याभ लटिल होप’, मुस्कुराउँदै बोले ।
निकम्मा भए पनि आफ्नो देशले जित्छ भन्नुपर्नेमा थोरै आशा छ पो भन्छ त बाबै ! कति वस्तुगत बोली ! आफ्नो देश भन्दैमा जथाभावी बोल्नु हुन्न भन्ने ज्ञान पाएँ मैले त्यहाँ । निश्पक्ष हुन सक्नु पर्ने रहेछ । मन परेको कुरा जे पनि सम्भव छ भन्ने, मन नपरेको केही पनि सम्भव छैन भन्ने तिनको संस्कार होइन रहेछ ।
हामी मान्ले बिचको बजार पुग्यौं । फराकिला र सफा बाटा । पर क्षितिजसम्म नीलो समुद्र एकपटि, अनि अर्कापटि डाँडा । बीचमा हामी । कहिल्यै कल्पना नगरिएको एउटा टापूमा उभिएर एकछिन घोत्लिएँ ।
अनि ठूलो बजार रहेछ किनारा पुग्नु भन्दा पहिले ।
अष्ट्रेलिया लेखिएका क्याप र भेष्ट किन्नुभयो ज्वाईंले ।
कुनै पनि सामानमा लोगोको रूपमा ‘अष्ट्रेलिया’ लेखिएको हुन्थ्यो । भीड पनि त्यस्तै सामानको रोजाइमा देखिन्थ्यो ।
सारा भीड त्यही नामको पछि लागिरहेको थियो । हजारौं मान्छेले त्यो देशको नाम अङ्कित भेष्ट, टोपी, स्टिकर, नेल पोलिस आदि खरीद गरे ।
देशको नाम बेचेर तिनले पैसा कमाइरहेका थिए ।
तिनको देशको नाम किन्न मान्छेको भीड थियो ।
हामीले आफ्नो देशको नाम र गरिमा कहाँ पुर्यायौं ? मैले संझे, आफ्नै देशको नाम बेचेर बदनाम कमाउनेहरूको मेरो आफ्नै परिवेश !
यो देशको नाम फेरेर यसको इतिहास मेटने प्रस्ताव ल्याउनेहरूलाई हामीले देवता मानेको पनि संझें । आज तिनले देशको नाम र त्यसको हिज्जे बेचेर अरवौं डलर कमाइरहँदा मन निकैबेर रोयो ।
‘ड्याडी सिरियस हुनुभयो त !’ छोरीले मेरो मनोविज्ञान पढिछन् ।
एक जना टिनएज केटी सुमधुर गीत गाइरहेकी थिइन सडकको छेउमा साउण्ड सिस्टम मिलाएर । कुनै कलाकारको भन्दा कम थिएन प्रस्तुती । हिंडनेहरू पैसा राखिदिदै हिंडथे ।
माग्ने पनि सभ्य तरिकाको ।
त्यसपछि हामी पर्तिर समुद्रको किनारमा पुग्यौं ।
छाल उठिरहेको थियो ।
यद्धपि त्यो चीसो मौषम थियो, धेरै मानिसहरू सर्फिङ्ग गरिरहेका थिए छालसंगै ।
छाल उर्लिएर आउँदा वर बगरसम्म पानी आइपुग्थ्यो । पानीको भीमकाय छालले त्यहाँको बालुवालाई (ढुङ्गा नभएकोले गर्दा) बेस्सरी हान्थ्यो । हिर्काउँथ्यो । पखाल्थ्यो । अनि फर्किएर जान्थ्यो । छाल फर्किएर गएपछि ती बालुवाका कणहरूले ठूलो स्वास फेर्थे । राहतको महसुस गर्थे । तर निमेषमै फेरी छाल आउँथ्यो र त्यो बगरको बालुवालाई बेस्सरी हिर्काउँथ्यो । लछाथ्र्यो । पछाथ्र्यो । रगेड्थ्यो । टुक्र्याउँथ्यो ।
बलुवाको बाहिर आवाज नआए पनि मैले तिनको आवाज सुनें ।
पिडाको आवाज । लगातार छालले हान्दा ‘एैया’ भनेर चिच्याउँदा चिच्याउँदा लाखौं बर्ष बितेको छ ।
बेलायती कवि म्यात्थु आर्नोल्डले डोभर नदीको किनारमा पुग्दा त्यहाँ छालले गिटीलाई हिर्काउँदा ती गिटीले निकाल्ने पिडादायी आवाज आफ्नो कविता ‘डोभर बिच’ मा उतारेका छन् ।
आज मैले यी बालुवाका कणको पिडादायी आवाज सुनें । र देखें, डोभर खोलाका गिटी, यो प्रशान्त महासागरको छेउका वालुवाका कण र नेपाली जनता एकै रहेछन् ।
बारबार हिर्काइ खानु पर्ने । कुरूप समयको छालले हानेर थिल्थिलिएका नेपालीजनहरूको चित्र ती बालुवाका कणमा देखें मैले ।
आर्नोल्डको कविताका गिटी, मान्ले विचको बालुवार नेपाली जनता उस्तै लाग्यो ।
ती सिर्फ चिच्याउँछन् लगातार !
तर कसले सुन्छ तिनको चित्कार ?
गिटीको चित्कार ती कविले बाहेक कस्ले सुने ?
बालुवाको चित्कार मैले बाहेक कस्ले सुने ?
नेपाली जनताको चित्कार कस्ले सुन्छ ?
कति भयो चिच्याएको ?
बन्दुकको बिरासत लेख्न गरिएको गराइएको चित्कार कहाँ बिलिन भयो ?
आज न्याय माग्दै सडकमा भरिएका मान्छेको चित्कार कसले सुन्छ ?
बरू तिनै चित्कार गर्नेहरूलाई थुकिन्छ ।
हिजोका इतिहासका सबै कालखण्डमा सत्तासिनहरूले सडकमा चिच्याउनेहरूलाई थुकेकै थिए ।
सत्तरी बर्ष नेपाली जनता सडकमा चिच्याएको कसले सुनेको छ ?
यही संझें ।
सर्फिङ्ग गर्नेहरूको भीड हेर्यौं त्यहाँ ।
सबै प्रकृतिसंग रमाइरहेका थिए ।
हामी पनि रमायौं । समुद्रसंगको सामीप्यता त्यो नवीन थियो हाम्रा लागि ।
जानुकाले समुद्रको एक अंजुली पानी उठाएर ल्याइन् र चाखिन । मलाई पनि चटाइन् ।
अति नुनीलो थियो ।
हावाले ठेलेर छाल बनिदैं छिनछिनमा ठोक्किंदा ठोक्किंदा तिनका पनि आँशु आए होलान् । त्यसैले ती नुनिला थिए, आँशु जस्तै ।
सबै प्रकृतिका प्रेम पूजारी । त्यहाँ नरमाउने, नमुस्कुराउने कोही पनि थिएन ।
त्यो बिशाल सागरको पानीसंग खेल्नेहरूको, पानीसंग रम्नेहरूको राजधानी थियो त्यो विच ।
देखें, केटाकेटी जहांँका पनि उस्तै । प्रकृति प्रेमी ।
बालुवामा खेलिरहेका थिए ती केटाकेटी । बालुवाका घर बनाइरहेका । सायद तिनका सपना थिए ती घर । नियालेर हेरें । क्षणभङ्गुर थिए ती घर ।बनाइ सक्दा ढलिसक्ने ।
हाम्रा सपना जस्तै ।
गणतन्त्रका सपना । संघीयताका सपना ।
पानी महात्मय देखें त्यहाँ । पानीको मूल्य थियो त्यहाँ ।
त्यसै बेदले पानीको पूजागर्ने भनेको होइन रहेछ ।
फर्किने क्रममा ओपेरा हाउस र हार्वर ब्रिजलाई फोकस गरिरह्यो यो मनले ।नहेर्न सकिएन एकछिन पनि । ओपेरा हाउसको वरीपरि फन्को मारेर त्यो विशाल ओपेरा हाउसको आयाम हेर्यौं । बेलुका समाचार पढियो, काठमाडौको माइतीघर मण्डलामा सरकारको बिरोधमा मान्छे जम्मा भए । अनि लाग्यो, यी गिटी र बालुवाको आवाज फेरी गुञ्जायमान भयो यो सभ्यतामा । र देशभरी मान्लेका बालुवा र डोभरका गिटी चिच्याइरहेछन् र म सुनिरहेकोछु । बशः यही आवाज सुनेर जीवन व्यतित हुनेछ ।
बाँस्कोटा धनञ्जय
[email protected]