एकछिन् सोच न-
तिमी मेरो ठाउँमा र म तिम्रो ठाउँमा भएको भए
कस्तो लाग्थ्यो होला तिमीलाई ?
कस्तो लाग्थ्यो
यदि त्यो सुदुर पहाडको फेदीमा हुन्थयो तिम्रो गाउँ
र बस्थ्यौ तिमी एउटा पराले झुप्रोमा
गाई- गोरू, बाख्रा र कुखुराहरूसंगै
र निभ्न आतुर टुकीको उज्यालोमा
हेर्नु पथ्र्यो भोकले छटपटी रहेका नानीहरूको अनुहार
कस्तो लाग्थ्यो तिमीलाई ?
कस्तो लाग्थ्यो
यदि तिम्रा छोरीहरूले बोकेर ल्याउनु पथ्र्यो
खोलाको पानी कोसौं टाढाबाट
अनि घरमा चुल्हो बाल्नका लागि
कुटी रहेका हुन्थे गिटी, या खन्दै गर्थे सडक
या फेरि आफ्नो थोत्रो साइकलमा बोकेर
दाउराको भारी कुदी रहेका हुन्थे बजारतिर
एकछाक नून- चामलको जोहो गर्न ।
कस्तो लाग्थ्यो-
यदि तिम्रा नानीहरू गोठाला जान्थे
र तिमी हेथ्र्यौ- ब्याग भिरेर स्कूल जाँदै गरेको कुनै बालकलाई !
एकछिन् सोच न ! कस्तो लाग्थ्यो-
यदि तिम्रो ठाउँमा म कुर्सीमा गमक्क परेर
चारजनाको विचमा चिया पिउँदै बसेकी हुन्थे
र तिमी सामुन्ने हात बाँधेर
आफ्नो रूग्ण भाषामा कुनै कामको बिन्ती बिसाइरहेका हुन्थ्यौ ।
भन न, कस्तो लाग्थ्यो-
जब ढाँड थपथपाउने हातले
अचानक नाप्न थाल्थे मांसलताको मात्रा
फोटो खिच्दै गरेका क्यामेराहरूको फोकस
मेरा फुटेका ओठभन्दा उठेका छातिमा केन्द्रित हुन्थे ।
सोच, केही बेरका लागि मात्र भएपनि, एकछिन त सोच-
यदि कुनै लाममा तिमी सबैभन्दा अन्तिममा हुन्थ्यौ
र म सबैभन्दा अगाडि,
अरू सबै छोडेर यति मात्र सोच, कस्तो लाग्थ्यो-
यदि तिमी मेरो साटो कालो हुन्थ्यौ
र थेप्चो हुन्थ्यो तिम्रो नाक, फुटेका हुन्थ्यो खाली खुट्टा ?
र यो सबैको गिल्ला गर्दै कसैले लगाउँथ्यो जोरदार ठहाका
भन न, कस्तो लाग्थ्यो तिमीलाई
कस्तो लाग्थ्यो होला तिमीलाई ?
अनुवाद: राजेन्द्र शलभ