• २०८२ असार २९ आइतबार

बा

किशन पौडेल

किशन पौडेल

बा अभावका पहाडहरू बोकेर
मुगलान तिर भासिनु भो
दसनङ्ग्रा खियाएर
सन्ततिका भविष्यहरू गोडमेल गर्दै
सुस्केरामा मिठो भाका भर्दै
सारङ्गीका तारहरू झैं रेटिनु भो ।

बा पौरखी हातहरू बोकेर
बहादुर छाती फुलाएर
फौजीमा भर्ति हुनु भो,
सन्ततिको भविष्य सुनिश्चित गर्न
अरूकै शत्रुहरूसँग लड्दै
बहादुर बन्नु भो ।

बा एकहल गोरूहरू नारेर
पाटेबारीमा दिनभरि
गोरूसँगै नाचिरहनु भो,
सन्ततिहरू कै सपनाहरू बुन्दै
खेतका गराहरूमा
कोदालीसँग परेड खेलिरहनु भो ।

दिनभरि बाउसे गरेर थाक्नु भएको
बा को निधारमा कहिल्यै थकान देखिन मैले
काँधमा जिम्मेवारी र कर्तव्यहरू बोकेर
सन्ततिका सपनाहरूलाई बुन्दै
अभावहरू सँग हाँस्दै जुधिरहनु भो ।

खै पीडाहरू पनि कता लुकाउनु हुन्छ बा ?
कहिल्यै बाँड्ने कोसिस गर्नुभएन ।
खुजमुज्ज परेका पन्ना जस्तै
चाउरी परेका अनुहारहरूमा
पीडाका बक्र रेखाहरू सल्बलाउँछन् ।
खोपिल्टा परेका गालाहरू
दुःखका गहिरो सागर जस्तै लाग्छ ।

तर खै किन लेखिएनन्
बा का अनगिन्ती दन्त्यकथाहरू
खै किन बनेनन्
बा का पीडाका पिरामिडहरू

ती स्वाभिमानी पौरखी हातहरू,
ती बहादुर छातीहरू
आदर्श र संघर्षको प्रतीक बनेर
पहाड झैँ अटल भएर उभिएको छ
मेरो मानसपटलमा
मेरो स्मृतिमा !


किशन पौडेल, हेटौँडा
[email protected]