नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकनाटक’ प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशनगर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपालको सातै प्रदेशको प्रतिनिधित्व हुने खालका ३० ओटा लोकनाटकहरूलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको छ । राजेन्द्रकुमार आचार्यको सम्पादनमा तयार भएको यस कृतिमा लोकनाटकको सैद्धान्तिक स्वरूपका बारेमा जानकारी प्रस्तुत गरी हरेक लोकनाटकको विधातत्त्वका आधारमा विश्लेषण समेत गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजना अन्तर्गत तयार गरिएको यस कृति लोक साहित्यप्रति चासो राख्ने जो कोहीका लागि बौद्धिक खुराक बन्ने छ । यस कृतिमा सामाजिक, पौराणिक, ऐतिहासिक वा जनश्रुुतिमूलक किंवदन्तीमा आधारित र अन्य गरी चार प्रकारका ३० ओटा लोक नाटकहरूको मूलपाठ र विश्लेषण एउटै ठाउँमा पाइने हुनाले यसबाट ज्ञान र मनोरञ्जन दुवै प्राप्तहुने देखिन्छ । प्रस्तुत कृतिमा नेपाली सामाजिक लोकनाटक अन्तर्गत कठै खोलीझरिम्, कात्तिकनाच, बालो नचाउने, रोपाइँजात्रा, सती ढाल्ने, सराएँ खेल, हिम्पै वाह्युपा र हुड्केली गरी आठओटा लोकनाटकहरू समावेश भएका छन्, नेपाली पौराणिक लोकनाटक अन्तर्गत कृष्णचरित्र (भजन शैली), कृष्णलीला (तिजगीत शैली), कृष्ण–सुदामा, दशावतार, ध्रुवलीला, प्रह्लादचरित्र, फागु, रामलीला, श्रवणकुमार र हरिश्चन्द्र गरी दशओटा लोकनाटकहरूको सविस्तार चर्चा गरिएको छ, नेपाली ऐतिहासिक वा अनुश्रुति किंवदन्तीमूलक लोकनाटक अन्तर्गत गोपीचन्द्र, गोपीचन्न, घाटु, जटजटिन, भुवो, भैलो, माधोनल–कामक बन्डला, सुनकेशरी र सोरठी गरी नौओटा लोकनाटकको सङ्कलन र विश्लेषण गरिएको छ भने अन्त्यमा चमढाल, जिउँतीवा रत्यौली र पुतली खेल जस्ता तीनओटा अन्य विषयक लोकनाटकहरूको सामान्य परिचय प्रस्तुत गरिएको छ ।
यसका साथै ‘नेपाली लोकवार्ताकोश’, ‘नेपाली लोकपरम्परामा महिला’,‘सन्थाली लोकगीत’ ‘कर्णाली प्रदेशका देउडा’ ‘काठमाडौँ उपत्यकाका लोकगीत’, ‘ताजपुरिया संस्कारगीत’ जस्ता कृतिको अनुसन्धान, सङ्कलन, लेखन र सम्पादन कार्य सम्पन्न भइसकेको र ती सबै कृति निकट भविष्यमा प्रकाशन हुने कुराको जानकारी विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ । उहाँले नेपाली लोकजीवनमा युुगौँ युुगदेखि अलिखित सम्पदाका रूपमा रहेका लोक सामग्रीहरूलाई खोजेर प्रकाशन गर्ने योजनाअनुसार यो कार्य सम्पन्न भएको र यसले विभिन्न विश्वविद्यालयहरूमा लोक साहित्यको अध्ययन, अध्यापन कार्यमा संलग्न विद्यार्थी र प्राध्यापकहरूलाई मात्र नभएर लोकसाहित्य र संस्कृतिका अध्येता र सर्वसाधारण पाठकलाई पनि बौद्धिक खुराक प्रदानगर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
लोकनाटकको सिद्धान्त, विश्लेषण र मूल पाठ सबै समेटिएको २३६ पृष्ठ र २६५ मूल्य रहेको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा प्राप्तगर्न सकिने कुराको जानकारी प्राज्ञ सभा सदस्य तथा सञ्चार प्रमुख शशी लुमुम्बूूले दिनुभएको छ ।