• २०८० मंसिर १५ शुक्रबार

मुटुभित्रको अदृश्य घाउ

बसन्त चौधरी

बसन्त चौधरी

आज फेरि
यो उदास साँझ

तिम्रो याद बनेर
दर्किंदै छ
मुटुभित्र मायाबाट
पाइएको
एक अदृश्य घाउ,
गर्मी यामको तातो घामझैँ
चर्किंदै छ ।

मेरो जीवन
अनिन्द्रितझैँ,
भित्रबाट केही विकृतझैँ,
छटपटीले बारम्बार
कोल्टे फेर्दै छ ।
चन्द्रमामा वियोगको
आगो सल्किँदै छ ।
तिम्रो साथ नपाएरै होला
खुसी पनि मसित
तर्किंदै छ ।

स्वप्न पनि
सान्त्वना दिन
असमर्थ छ ।
कस्तो समय आयो,
शीतल भनेको जूनसमेत
मुटुभरि आगो
छर्किंदै छ
मेरो जीवनको खुसी
तिमीलाई कुर्दै छ ।
हरेक क्षण यो मन
तिमीलाई पर्खिंदै छ ।

तिमी आऊ,
तिमीलाई अँगालोमा भर्दा
म अनुभूत गर्छु,
मेरो निभिसकेको
सास फर्किंदै छ ।
मलाई तिम्रो स्पर्शले
नयाँ जीवन दिंदै छ,
तिमी नभएरै होला
सायद,
आज फेरि तिम्रो याद,
वियोगी बादल बनेर
दर्किंदै छ,
बर्सिंदै छ ।

साभार: मेरा कविताहरू (कवितासङ्ग्रह)

[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)


आशंका के बादल

मन भावे

स्वर्ग–अप्सरा