• २०८१ श्रावाण ११ शुक्रबार

अन्योल समयको भीडबाट

बसन्त चौधरी

बसन्त चौधरी

जीवनलाई रोगी पार्दै
पृथ्वीलाई बिरामी बनाउन
लागिपरेको छ वर्तमान !

जहाँ
मानवसभ्यता र
विकासका मान्यताहरू
द्वन्द्वमा छन्
जीवन र
मृत्युको
यथार्थलाई आदर्शले
छोप्न नसक्दा
छरिएका छन् सत्य वर्तमानसँग
सन्त्रासमा सास फेरिरहेको विश्व
पलपल आत्तिएको छ,
युद्धरत छ जीवन मृत्युसँग
आँखामा आत्मीय पीडाको
आँसु बोकेर
बन्दी छ मान्छे
आफ्नै घरभित्र !

मान्छे !
मान्छेको जीवनभन्दा ठूलो
केही हुन्न
मान्छे छ र त छ
संसार, सृष्टिको अर्थ
मान्छे छ र त छ
प्रेमको अर्थ
मान्छे भएर नै
हुन्छ शान्तिको महत्त्व
र सभ्यताको अर्थ आशा !
जीवनको आधार
द्वन्द्वको यही
भीडबाट उन्मुक्ति !

कामना !
झोक्राएको पृथ्वीमा
रोगाएको वर्तमान
चाँडै निको होस्
र,
स्वस्थ प्रकृतिको
मौलिक रङमा
फेरि सुचारु हुन्,
सुन्दर जीवनका दैनिकी !

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)


हामी डटिरहने छौँ

नारी दिवसमा नव नारी

माँ