कविता

असार १८, काठमाडौं
बत्तिसपुतली काठमाडौँमा एक समारोहका माझ साहित्यकार विश्वराज अधिकारीको कथासंग्रह ‘सागरमणि दाइ नेपाल फर्किनु भयो’ कथासंग्रह सार्वजनिक गरिएको छ । लामो समयदेखि अमेरिका बसेर नेपाली साहित्यका अनेक विधामा कलम चलाइ रहनुभएका विश्वराज अधिकारीको साहित्यमा सक्रिय हुनुहुन्छ । उक्त कार्यक्रममा प्राज्ञ माया ठकुरीले कथाले मानिसको जीवन बोल्ने भएकाले आम पाठकले रुचाउने गरेको बताउनुभयो । उहाँले आफूले कथा लेख्दाको क्षण पनि स्मरण गर्नुभयो ।
कृति माथि चर्चा गर्दै प्रा.डा. सावित्री मल्ल कक्षपतिले अधिकारीको यो कृति स्वस्फूर्त भाव प्रवाहबाट सिर्जित भएको र यसमा नौलो प्रस्तुति पाठकले भेट्ने कुरा बताउनुभयो ।
डा. शैलेन्दुप्रकाश नेपालले विश्वराजका कथा विचार प्रधान रहेको उल्लेख गर्नुभयो । साहित्यकार हरि अधिकारीले विश्वराज प्रयोगवादी लेखक नभएको भन्दै उहाँको यस कृतिमा सरल भाषागत प्रस्तुति रहेको बताउनुभयो ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले विश्वराजले कृतिमा आख्यानकारिताको अभाव रहेको स्वीकार गरेको बताउँदै कृतिका कथाहरूमा अमेरिकामा बस्ने नेपालीहरूको कृत्रिमताकाबारेमा प्रस्ट लेखेको विश्लेषण गर्नुभयो ।
कार्यक्रममा मोहन सिटौला, विश्वराज अधिकारी, खेमराज पोखरेल, ममता मृदुल, प्रा.भूपप्रसाद धमलालगायतले आफ्ना धारणा व्यक्तगर्नु भएको थियो ।