• २०८१ श्रावाण ११ शुक्रबार

एउटा प्रेमकविता मेरो भाग्नुसँग

रोशन थापा ‘नीरव’

रोशन थापा ‘नीरव’

मेरो भाग्नुमाथि तिम्रो प्रश्न
‘इस्केपिस्ट’ हुनुसँग होला,
म मेरो भाग्नुसँगै छु
तिमीले भनेकी छ्यौ
माटोबाट भाग्नु
दायित्वबाट भाग्नु
अस्तित्वबाट भाग्नु्
कति उचित ?
तिम्रो यही प्रश्न थियो, हैन त कुसुम ?

तिम्रो प्रश्नसँगै
मेरो भाग्नु
माटोबाट थिएन
दायित्वबाट थिएन
अस्तित्वबाट थिएन
म जहाँ भाग्छु्
वा भागेर पुगेको हुन्छु
त्यहाँ अब कुनै मेगलोडन भेटिने छैन
जसले मलाई एकै गाँसमा चपाओस्
त्यहाँ अब कुनै टाइटानोबोआ भेटिने छैन
जसले मलाई एकै सासमा निलोस्
त्यहाँ अब कुनै औरोस भेटिने छैन
जसले मलाई एकै झमटमा हानोस् ।

बस, मभित्रको एउटा विशाल गर्त
झन्झन् गहिरिँदै छ
मेरो दिन
मेरो रात
मेरो बाँच्नु–
त्यहीँ खसिरहेछ
अनि मेरो एक्लो हुनु
ओह ! कति हल्लाहरू
म माथि आक्रमण गर्दै छन्, कुसुम !

यो तिमीले बुझेकी छ्यौ
वा थाहा तिमीलाई छैन
कति सजिलाले तिमी
भनिदिन्छ्यौ– जीवन सरलमा बाँच्नू
तर मलाई थाहा छ,
सरलतामा बाँच्नुको भयावहता
यद्यपि मेरो भाग्नु
मेरो बाँच्नुको भयावहताबाट थिएन
मेरो भाग्नु साँच्ची कुनै मोहबाट थिएन
मेरो एक्लो हुनु
मेरो बाँच्नुसँग भयभीत छैन, कुसुम !

यसैले त बरु
म भीडमा हराउन सक्छु
म हल्लामा मिसिन सक्छु
म सबैबाट भाग्न सक्छु
तर तिमीबाट…
अहँ, भाग्न सक्ने छैन
यसैले त हेर,
तिम्रो नजिक जति हुनखोज्छु
तिमीबाट त्यति झन् टाढा
भागिरहेको छु, भागिरहेको छु
एकदम एक्लो…!


रोशन थापा ‘नीरव’
[email protected]