छ नेवा खः - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

छ नेवा खः

लक्ष्मण सिटौला

लक्ष्मण सिटौला

हिंड्दा हिंड्दै गल्तीले एउटा अर्कै गलिमा छिरेछु ।
गल्लि भित्र घरहरू यति जोडिएका छन् कि कतै देख्दिन एउटा सानो दुलो जहाँबाट अलिकति हावा छिरोस, अलिकति घाम छिरोस, अनि अलिकति जुनको उज्यालो छिरोस । छिरेपछि मलाई त श्वास नै फेर्न गार्हो जस्तो भो । अलि अलि हावा बाहिर मुल सडक देखि नै मेरो पछि पछि लागेर आएको थियो र पो धन्न । कसरी बस्लान यहाँका मानिसहरू यस्तो अँध्यारो गल्लिमा । अन्दाजी साठी नागेको कम वयमै यति बुडो देखिएको मानिस फुत्त साइकल चढेर आयो । मेरो पछाडि घण्टी बजायो । म अलिक सडक बिचमै रहेछु । होस नै भएन । कस्तो अचम्म गल्ली भित्र पार्दा पार्दैको नयाँ रक्सीको गन्ध आइरहेको थियो । यसलाई खासै गन्ध भनिहाल्न पनि मिल्दैन आखिर खाने चिज न पर्यो यो पनि ।

त्यो मान्छे साइकल लिएर म भन्दा करिब बीस हात अगाडि रोकियो । साइकल अड्यायो । टोपी झिकेर मुहारको पसिना पुछ्यो र फुत्त भित्र छिर्यो । गली निकै लामो छ । मानौ एउटा अँध्यारो पुरानो सुरूङ जस्तो । उज्यालो पर मुल सडकदेखि नै पछ्याउँछ जो यो गल्ली भित्र छिर्छ । मानिसहरूको आवतजावत पनि त्यति छैन । सानो आवाजले बोल्यो भने पनि यहाँ ठुलो सुनिदोरहेछ । एउटा अग्लो घरको छिडीँ मुनि छिरेको त्यो साइकिलवाला केही खानेकुरा चपाउदै अकस्मात बाहिर निस्कियो । म बिस्तारै बिस्तारै त्यहाँको मौनता नियाल्दै हिँडिरहनु उनलाई अचम्म लागेछ र सोधे- “ए छौ नेवा: ख ? मैले बुझिन र अलमल परे । फेरि उनले नेपालीमा सोधे “तपाईं नेवार हो कि जस्तो लागेर बोलेको “खोइ किन पो मलाई मुसुक्क हास्न मन लाग्यो भित्रैबाट । हाँसिदिए फिस्स र भने “म नेवार त हु तर नेवारी बोल्न नआउने पहाडी नेवार” ती पनि फिस्स हाँसे ।

म रोकिएँ । उनी पनि रोकिए । हामी दुवै आमने सामुने भयौँ । अलिक वर आएर कुरा गर्न थालेपछि उसको मुखबाट आलो रक्सीको हरक आयो । तर त्यति धेरै नमीठो गन्ध चै होइन है ।
तिन्को मुखबाट अघि सडकनै मगमगाउने गरेर आएको नयाँ रक्सी को बासनाले मलाई पनि तलतल जगायो । दिउँसै छ के पिउनु जस्तो पनि लाग्यो । “तातो रक्सीले अलिकति मजा दिइरहेको छ” उनको कुराले मेरो मुखमा पानी आयो । मलाई पनि पिउन मन लागेको छ भनेर भन्न सकिन । मन मनले सोचेँ यिनी गल्लि बाहिर निस्केपछि म त्यही छिडिँमा खुसुक्क छिर्छु र तातो रक्सी पिउछु ।
उनी साइकल डोर्याउदै गल्लि बाहिर निस्किए । म त्यो गल्लिको छिडीँ अगाडि उभिन पुगेँ ।

कस्तो रमाइलो दृश्य देखे…..

नेवारी खाना । छोयला, कचिला, मम, मासको बारा, गेडागुडिको क्वाँटि, रागोको जिब्रो फ्राइ, हरियो लसुन सराबरी गरेर सादेको भटमास आहा ! बाहिर बसेर एकिछन टोलाएको मात्रै के थिए एउटी भर्खरै एक्काईस बाईस बर्ष लागेकी बैश वयकी नेवार्नी मैचाले बोलाइन । कस्तो मीठो बोली ।

“छौ नेवा ख दाजु” मैले अघि नै ती दाजुसग कुरा गर्दा यसको अर्थ बुझिसकेको थिए । फेरि त्यही कुरो दोर्याए ।

नेवा ख तर पहाडी नेवा ।

तिनी मुसुक्क हाँसिन र भनिन ए हाम्रै जात भातको हुनुहुदो रहेछ । आफ्नो जात मिल्यो भने यो शहरमा अर्कै स्नेह मिल्दिरहेछ । भित्र छिरेँ । त्यहाँको खानेकुराले असाध्य लोभ्यायो । अनि सबैभन्दा लोभ्यायो यी नेवा नारीको मीठो बोलि वचनले । यिनको नव यौवनाले । यिनको मीठो मिजासले । अपनत्वको सजिवताले झनै नजीक पुर्यायो । मानौ यिनीसँगको मेरो दोस्ती धेरै पुरानो हो । दशैँ नजीक आएकोले घरमा मरमसला र मिल्यो भने एउटा सानो खसी डोर्याउला भन्ने सुरले कान्तिपुर आएको ।

लामो मेच थियो । हाम्रो पहाडी स्कुलमा बसेर पढ्ने बेन्च जस्तै । अलिकति थकाइ पनि लागेको थियो । आजै गाउँबाट आएको । भोकै थिएँ । क्षेत्रपाटिको सुकुमानको भात होटेलमा खाना खान्छु भनेको सुकु भेट भएन ।त्यसकी बुहारीको मिजास अलिक छुच्चो छ । बुहारी चै अलिक महङ्या पनि छे । भादगाउँलेको पसलमा लुगाफाटो किन्नु थियो । नजानेर एक्कासि यो गल्लीमा छिरे …। मेरो कुराले नेवाः नानीलाई छोएछ ।  मम एक प्लेट चिउरा, कचिला र छोएला अगाडि ल्याएर राखिदिइन् । खास त मैले मागेको पनि होइन उनले नै “तपाईंलाई बेस्सरी भोग लागेको छ यो खाँदै गर्न भनिन ।” यस्तो भोक लागेको रहेछ कि हरेक परिकार यति मीठो थियो कि बयान गर्न सकिन…
– यति मीठो खानेकुरा जिन्दगीमा खाकै थिन, कस्तो हात होला है !
– यी हात त यस्तै हो नि हाहाहा”…तिन्ले हातै देखाइन ।

तिनी रमाइली रहेछिन । मलाई हात देखाइन । सेता कोमल हात । सलक्क परेका गोडा । फराकिलो निधार । गोल मिलेको पाखुरा । निधार पनि ठुलो । आँखामा अलिकति नजानिदो पाराले गाजल लाएकी । कपाल धागोले बाधेर पछिल्तिर फर्काएकी । लामो कालो कपाल । डम्म परेका राता ओठ । लाली त होइन तर कस्तो रक्तवर्णकि । खासै शृङार त केही गरेकै होइन र पनि कस्तो राम्री। धपक्क बलेजस्तो उज्यालो मुहार । नेवाः भैकन यति राम्री केटी आज पहिलो चोटि देखेको ।
– के हेरिरहनु भाको मम खानुन सेलाउँछ अहिले त्यो एक्कासि आएको मीठो आवाज मेरो कानबाट हुइँकिएर गयो । झसङ्ग भएँ । कस्तो मधुरकन्ठ बोली । एकैछिन चुप लागेँ । निशब्द भएँ । बोल्न मन लागेर पनि बोलिन । त्यही अघि वातावरणमा झन्कृत भएको उनको मधु मिश्रीत ध्वनिको प्रकम्पनले उछालिरहे आफैँ केही बेर ।

मेरो मौनता देखेर तिनी फेरि बोलिन ।

– किन नबोलेको नि
– बोल्न भन्दा नि सुन्न मन लागेर
– अघि मात्रै आमाले तातो रक्सी पार्नु भएको छ पिउनुहुन्छ ?”
– अघि सडकमै यो रक्सीको वासनाले म मोहित भएको नि”
– हो र सडकमै पुगेछ वासना ?
– हजुर
एउटा गिलास लिएर नेवाः केटी भित्र गइन । तिनी हिडेको पनि कस्तो सुहाउँदो । म हेरेको हेरै भए । अगाडि नि राम्रो पछाडिको चाल पनि त्यतिकै राम्रो । कस्तो मिलेको सबै कुरो । पृथ्वीमा यति राम्री सुन्दरीको पनि जन्म हुँदोरहेछ । मम खाएर म चिउरा चपाउँदै थिए । खाना सबै मीठो लाग्यो । उनी भित्रबाट गिलासमा हल्का बाफ आइरहेको रक्सी लिएर आइन र हातमा दिएर अलिकति झुकिन ।

–  सगुन हो पैसा तिर्न पर्दैन यसको । फेरि पिउनु भो भने मात्रै पैसा लिन्छु है !

धेरै अघि आमा जिवितै हुँदा आमाले दिने न्यानो स्नेह जस्तो पो पाए मैले । यो नेवाः केटीमा हुर्किएको आदरता कस्तो मायालु ।
कतै कहि नबिजाउने मान्छे पहिलो चोटि देखेँ । म आमा बुवा नभएको एउटा टुक्रे अविवाहित केटो थिए । कहिलेकाही काम विशेस सहर आइरहनुपर्छ । असन इन्द्रचोक ठहिटि बसन्तपुर क्षेत्रपाटि ठमेल हाम्रो बा हजुरबाको पालादेखी किनमेल गर्नी ठाउँ । बा बितेको दुई बर्ष भो । नत्र म प्रायः बासँगै आउथेँ सहर । दुई भाइ बहिनी थिए मेरो जिम्मामा । सौतेनी आमा पनि हुनुहुन्छ साथमा । भाइ सानै छ । बहिनी १४ बर्षकी भै । पढ्न स्कुल हालेको स्कुल टाढाभो भनेर बिचमै छोडेर कान्छी आमालाई घरधन्दा सघाउँछे । मेरो बिहे भएको छैन । दुइचार वटा खेत छन् । अरूको ज्याला मजदुरी गर्न पर्दैन । सालको सयमुरी जती धान बेच्छौं दुःख त छ तर दुःख अनुसार उब्जनी पनि छ । गाउँका सबैलाई परेका बेलामा दिन ख्वाउन सकिन्छ । खान लाउन र परेका बेलामा खर्च गर्न सक्छु । आफुले खासै नजोडे पनि बाउले मनग्गे जोडीदिएका छन् । हुनत पुर्खाको सम्पत्तिमा के गर्व गर्नु त्यो जोडदा उहाँहरूको पसिना कति झरे होलान् । आजसम्म इज्जतमा बसेका छौँ । कहिलेकाहीँ यसो जातैले पाएको त हो नि भनेर एक दुई गिलास रक्सी चैँ पिउछु । नत्र भने अरू त्यस्तो नराम्रो बानी केही छैन । कसैको दुश्मन पनि हुनपरेको छैन…

नेवा केटीले मेरो कुरालाई धेरै चासो दिएर सुनिरही । गफ गर्दागर्दै कति धेरै खाइसकेछु पत्तै भएन। अब त मज्जाले अघाएँ । अघिसम्म शन्यू र निरश लागेको गल्ली अहिले किन यस्तो रमाइलो लागेको मलाई । यति धेरै मीठा खानेकुरा श्रद्धा र मायाले ख्वाउने यी राम्री नवयौना नेवा केटी बिहे गरेर घरजम गर्न पाए म यो धरतीलाइ स्वर्ग बनाउथेँ । तर सहरमा हुर्केकी केटी पाहाड जान के मान्ली खै । मैले उनको उमेर सोधेँ
– कति बर्ष हुनु भो
– बाईस बर्ष
– म भन्दा तीन बर्षले कान्छी हुनुहुँदो रहेछ
– तपाईं पचिस हुनु भो ?
– बिहे कहिले गर्नी त अब ?
– बिहे भैसक्यो नि मेरो
– ओहो होइन होला पत्याइन
– हो नि अघि भर्खरै साइकल चढेर आउने मेरो श्रीमान हो नि रक्सी खान आएको । असाध्य रक्स्या छ । झगडा मात्रै गर्छ । रक्सी खान मात्रै आएको होइन म भट्टीमा बसेर कोको केटासँग बोल्छु भनेर चियो गर्न पनि आएको । उसले अरू केही गर्न सक्तैन खाली चियो मात्रै गर्छ । खै उसलाई पनि रक्सीले टि.बि पो भैसकेको हो कि । यता आको बेलामा खोक्छ अचाक्ली !

– उफ ! ए अघि साइकलमा जाने ती बुढादाइ तपाईंको लोग्ने हुन्
– हजुर
म मुर्छा परें । छाती दुख्यो । सारा गल्लिनै भैंचालोले हल्लिए जस्तो लाग्यो । दःखी भएँ । मन चिसो भयो । यो कस्तो अनमेल बिहे हो । यसरी नि बिहे हुन्छ र । बाबू भन्न सुहाउने लोग्ने मान्छेलाई कसरी श्रीमान भन्दिहुन यी नेवा केटी । म मौन भएँ । मलाई खलखली पसिना आएको देखेर तिनी बोलाउछिन ।

– के भो अनायास चुप लाग्नु भो नि
– खै के भो भो छाती अवरुद्ध भो नसोचेको भो जे भो नजाती भो
– मेरो बिहेको कुराले हो ?
– हजुर
– लामो कथा छ मेरो जिन्दगीको । तपाई सुन्न सक्नु हुन्न । फेरि कथा भन्दा भन्दै रक्सी खाने निहुले मलाई छड्के हान्न आउनु हुन्छ । मेरो कथा अधुरो नै होला । तपाईंलाई दुख्ला । किन दुखाउँ म तपाई एकैछिन् आउनु भएको ग्राहकलाई ।
– यो घरमा तपाईं बाहेक अरु को को छन ।
– म सासू र श्रीमान तीन जना मात्रै
– कति बर्ष भो बिहे गरेको ?
– बिहे गरेको होइन मलाई उहाँले किनेको
– कति हजारमा
– खै मेरो बाउले यहीँ छोडेर गए । कतिमा पो बेचे के जानू ?
– माइती कहाँ हो तपाईंको
– बन्दिपुर
– कति बर्ष भो बिहे गरेको
– दुई बर्ष
– सन्तान भएको छैन ?
– छैन । मैले बच्चा नपाउने सर्तमा बिहे गरेको । उहाँको जेठीका दुई छोरा छन् । र उहाँले मलाई बिहे गरेसी नियोजन गरेको ।
– यो घरमा सासू र म मात्रै बस्छौँ । उहाँ उतै जेठि स्वास्नीसँग बस्नुहुन्छ । मैले कमाएको पैसा मात्रै लानुहुन्छ ।
– के नाम हो तपाईंको ?
– मिना श्रेष्ठ । अनि हजुरको नि ?
– मधु श्रेष्ठ
करिब तीन घन्टा बित्यो । एघार बजे यो गल्लीमा झुक्किएर छिरेको म । अहिले दुई बज्यो । सारा जगत घुमेजस्तो लाग्यो । उनी कसरी बेचिइन त्यो कथा मलाई सुन्न मन लागेन । उनि प्रति असाध्य माया लाग्यो । मलाई असन जानुथ्यो । जिरा र अरु मरमसला किन्न । मिनालाइ एउटा कुरा भन्न मन लाग्यो । भनु पनि कसरी । अर्काको श्रीमती । छोरी बेच्ने बाबुलाइ मन मनले धिक्कारें । म बसुन्जेल त्यहाँ अरु कोहि ग्राहक पनि आएनन् । हामी दुई मात्रै भयौँ । सासू दमको बिमारी रहिछन । त्यही दमग्रस्त बिमारी सासुलाइ स्याहार्नु र रक्सी बेच्नुको विकल्प रहेन्छ तिनको ।

एउटा कलिलो घाम पुर्वबाट उदाइरहेको जस्तो मुहार लिएर जीवनलाई सहजसँग पार लाउँदै गरेकी मिना देखेर म बेचैन बने केहिबेर ।

तिनी मसँग नजीक भइन । मैले भने-

“- तपाईंको जीवन देखेर मलाई कस्तो माया लाग्यो अनि लोभ पनि । आज कुन साइतमा म यो गल्ली भित्र पसेछु । एउटा कुरा भन्न मन लाग्यो भनुम ?”
–  भन्नुन
–  गाली नगर्ने भए मात्रै भन्छु
–  गर्दिन किन गाली गर्नु र यति राम्रो मान्छेलाई
–  मलाइ तपाईंको असाध्य माया लाग्यो । म भगाएर लान्छु जानी ?
– खै के भनु । तपाईंलाई पहिलो चोटि देखिरहेछु । कसरी बिश्वास गरुँ । आफ्नो बाउले त यहाँ बेचेर गए । म कस्को बिश्वास गरु ? जिन्दगी नै एउटा प्रश्न भएर उभिएको छ यतिबेला । दुःखमा छु भनु भने पनि कसैले पत्याउँदैन अनि सुखमा छु भनु भने पनि बाबुद्वारा बेचिएको छु ।”

– मैले तपाईंलाई तपाईंको बाबुले बेचेको मूल्य त्यो मानिसलाई तिरे भने के तपाई यो घरबाट मुक्ती पाउनुहुन्छ त ?
– मलाई उसले उसको श्रीमती भन्छ अनि के गरु ?
– सगै बस्नु भएको छ आजसम्म कहिले ?
– तपाईंको मतलब ?
– तपाईं र ती दाइ सँगै रात काट्नु भएको छ कहिले ?
– छि त्यस्तो गन्हाउने रक्स्याहा बुढोसग को सुत्छ ?
– त्यसो भए तपाईं आजसम्म पवित्र हुनुहुन्छ
– म बिटोलिएकी छैन।
यति सुनेपछि मेरो आत्मा यति प्रसन्न भो कि सिमा नै रहेन । केहिबेर म त खुसीले भक्कानिए । मलाई मन परेकी स्त्री चोखी भएकीमा । केहिबेर अँध्यारो लागेको गल्ली त एउटा कुनै भब्य दरबारको आगन जस्तो लाग्यो । खुसीले यति गदगद भएँ कि एक गिलास रक्सी मागें । सारा खुसी उनलाइ दिउँ जस्तो लाग्यो । मन मनले सोचे अब मौका यहि हो यिन्लाइ भगाउँछु । घरमा लिएर जान्छु । धुमधामसँग बिहे गर्छु । यति राम्री दुलही कसरी पायौ भन्लान गाउँलेले अनि मेरो फुर्ती अर्कै हुनेछ र म भन्ने छु- हाम्रो धेरै बर्ष देखि प्रेम थियो । ज्यान नै तातो भएर आयो । भोक फेरि लाग्न थाल्यो । मन खुसी र उमङ्गले गदगद हुन थाल्यो ।

केहिबेर पछी आधा गिलास रक्सी लिएर मिना बाहिर आइन । साथमा ती असी हिउँद बिताएकी अस्थिपन्जर भएकि सासुलाइ लिएर । म झस्किएँ । ओहो यस्ती बृद्ध सासुलाइ यति मायाले पालेकी छिन यिनले । रक्सी टेबुलमा राखिन । आमा रोगी हुन तर जुन जस्तै उज्यालो मुहार । काटिकुटि मेरै आमाको जस्तो अनुहार पाए मैले । यस्ती ममतामयी आमाको दर्शनले आज धन्य भए ।

ती आमाले स्नेहले मेरो कपाल सुम्सुम्याइन । म भावुक भएँ ।
आफ्नी आमालाइ सम्झेर । मीनालाई मैले भगाएर लगेँ भने यी आमै एक्ली दुखि होलिन । यिनलाइ कसले एक गाँस तातो पकाएर ख्वाउला नि ! उफ ! सम्झिदा नि स्वास फुलेर आउँछ । यिनी त अन्धकारमा फसेको एक्लो जुन जस्तै होलिन हरे !

यस्ती आमाको हातबाट मैले उनको जीवन रक्षकनै भगाएर लगें भने मलाई कति पाप लाग्ला है। आमाको मुहार हेरेँ । एउटा निर्दोष फूल अन्तिम बसन्त कुरिरहे जस्तो हाँगाबाट झर्नलाई ।
चित्त जल्यो । आमाको त्यो आद्र करुणा देखेर खै किन पो हो सात बर्ष अगाडि बितेकी आमाको याद फेरि बेस्सरी आयो । काटिकुटि आफ्नै आमाको मुहार । सेतै चामल जस्तै भए पनि फुलेका कपालमा धागो लाएर बाटिदिएकी ! नुहाएर सफा राखिदिएकी । असी बर्षको मान्छे कतै शारीरिक खोट र चोट छैन । यसरी त आफ्नै छोरी भए पनि के पाल्थेर । अझ छोराको त कुरै नगरु ! अघि देखेको त्यो स्वप्नलोकबाट म झरें । म खसे जिन्दगीको एउटा यथार्थ सत्यको पोखरीमा । मनमनले सोचे….भो आमा ! यो अशक्त उमेरमा मीनालाइ तपाईंको साथबाट खोसेर त्यस्तो अपराध म किन गरु ? । बरु म जिन्दगी भरी अविवाहित नै बसुँला । किन चाहियो र मलाई श्रीमती तपाईं जस्ती आमालाई रुवाएर । आमा भित्तातिर फर्किएर खोक्न थालिन । तिनको मुखबाट रगतका फाल्सा आइरहेको देखेँ । मीनाले हात थापिन ती आमाको रक्त खकार र माथी ओछ्यानमा लिएर गइन । आमा दैलो भित्र छिरेपछि एउटा उज्यालो ज्योति पनि भित्र छिरे जस्तो लाग्यो ।

मिना तल आइन । मेरो मुड बदलियो । अर्कै लाग्यो यो विश्व जगत । बिल तिरें । फेरि त्यही गल्ली हुँदै बाहिर निस्किँदै थिएँ । ती दाजु अर्थात मिनाका श्रीमान अघिकै बाटोमा भेटिए । यतिबेला तिन्ले थामि नसक्नु गरेर रक्सी पिइसकेका रहेछन् । मलाई देखे । यो समय भने तिन्ले मलाई चिनेकी चिनेन थाहा छैन । तर फेरि एउटा पहाडी केटो देखेर त्यही वाक्य दोर्याए-

– ए बाबु  ! छ नेवा ख: ? बिहान पनि र बेलुका पनि किन यिन्ले मलाई नेवार हो भनेर सोधे मैले केही बुझिन । म असनतिर लम्किए । सुर्य चन्द्रागिरीको डाँडामाथी अस्ताउन ठिक परेका थिए ।


लक्ष्मण सिटौला
laxmanrajsitaula@gmail.com