• २०८१ असार ३२ सोमबार

अलमलिएको बिहान

बसन्त चौधरी

बसन्त चौधरी

जीवन अलिकति
खजमजिएको छ,
हाम्रो भाग र भाग्यमा
चोटको प्रहार असह्य छ
साँझसम्म त ठीकै थियो
आजको बिहान
किनकिन
बेस्सरी अलमलिएको छ !

आवाज छरिएका छन्
कान टम्म टालिएको छ
आँखाका ज्योति पनि
धमिलोधमिलो
अस्पष्ट द्ष्टिले घुरमैला छन्
हरेक पल
यसैयसै रूमल्लिएको छ

सम्हाल्ने नपाएर
झरेर फुटेको
टुक्राटुक्रा
काँचजस्तै
अथवा,
आकाशका ताराजस्तै छरिएका
वेदनाहरूको अनौठो मेलामा
मन चोइटिएको छ
र बेस्सरी दुखेको छ
लाग्थ्यो सबै ठीकै छ
तर
अन्योलले अँचेटेको छ

निर्दयी समय !
स्वार्थ र लोभमा डुबेको छ
सानो फूलबारीमा
एउटा गुलाफ फुल्ने रहरमा छ
तितरबितर पारेर फूलबारी
चुँडेर मार्न त नपर्ने हो
तर च्यातेर बाँड्ने सुरमा छ

यो त्रसित समयको आँखामा
सपना थलिएको छ
आजको बिहान
किनकिन
बेस्सरी अलमलिएको छ !!

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)