• २०७९ असोज १८ मङ्गलबार

अहिले हामी तपस्यामा छौँ

दिनेश अधिकारी

दिनेश अधिकारी

आफ्नै चिन्तामा बेस्सरी निचोरिएको म
तिम्रोबारेमा बी–बीचमा खबर लिइरहेको छु
नयाँ जन्म लिएको छ
दन्त्यकथामा पढेको
मान्छे खाने राक्षसले धर्तीमा यतिखेर
र, अदृश्य भेषमा जताततै
त्यसले मच्चाएको विध्वंंशको खबर
रेडियो र टेलिभिजबाट थाहा पाइरहेको छु
एउटै नियति भोगिरहेको
ए, मेरो चिनियाँ मित्र !
ए, मेरो अमेरिकी सहपाठी !
अहिलेसम्म तिमी सुरक्षित नै छौ भन्ने विश्वाश भरिरहेको छु

सामुन्नेमा उभिएको शत्रु भए पो चिन्नु
र, त्यसका विरुद्ध लड्नु
तिमी पनि सम्भवतः मजस्तै
त्यसको छली स्वभावका कारण
आतङ्कित समय बिताइरहेका छौ
नातेदार वा छर–छिमेकीको के कुरा गर्नु
मैलेजस्तै तिमी पनि
घरभित्रै शङ्काको सास फेरिरहेका हुनसक्छौ
हातमा लिएर अखबार पढ्न डराउनुपर्ने
भरोसाका लागि बनाएको रेलिङ् समात्न तर्सनुपर्ने
उफ ! यो कस्तो समय टेक्तै छौँ हामी
उफ ! यो कस्तो नियति भोग्दै छौँ हामी
ए, मेरो भारतीय साथी !
ए, मेरो बेलायती सहयात्री !
तिमी पनि लकडाउनको एकान्तवासमा छौ कि मजस्तै
अथवा, अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छौ
जहाँ, जो छौ
फेरि पनि यतिचाहिँ पक्का छ
मजस्तै तिमी पनि
थर्रर ! एकपटक मनभरि काँपेर
खानेकुराको थाल समातिरहेका छौ
मध्यरातमा उठेर
नढाकिएका आफ्ना हातहरू धोइरहेका छौ

मर्दा–पर्दा हो आफन्त चाहिने भन्थे
मलामी जानबाहेक अरू त गर्नै के सकिन्थ्यो र ?
एक थुङ्गा फूल चढाइन्थ्यो होला मृत शरीरमा
सङ्क्रमणको आशङ्कामा
अहिले त परिवारले पनि पत्तो नपाउने गरी
मृतकको लास अज्ञात स्थानमा गाडिने गरेको छ
बाँचे न संसार देखिने हो
तिमीलाई जस्तै मलाई पनि
अहिले जीवन जोगाउने चपेटोले छोपेको छ
ए, मेरो इटालियन दौँतरी !
ए, मेरो नाइजेरियन सहयोगी !
जो, जहाँ छौ सुरक्षित बस
जीवन कति प्यारो रहेछ
ढोकाबाहिर सुनिने मृत्युको पदचापले जताइरहेको छ

छली राक्षसीसँग सशङ्कित छौँ हामी
यो पक्कै हो
फेरि पनि हारेका छैनौँ
र, त्यसका विरुद्ध लड्न
एक्लाएक्लैको मोर्चा बनाएका छौँ
झुक्याएर मेरो घाँटी समातिहालेछ भने पनि
मैसँग मात्र लडाइँ हुनेछ त्यसको
र, छुट्टाछुट्टै आफ्ना मोर्चाहरूमा
सुरक्षित रहने छिन् मेरी आमा
सुरक्षित रहने छन् मेरा बाबु
सुरक्षित रहने छिन् मेरी पत्नी
सुरक्षित रहने छिन् मेरी छोरी
ए, मेरो अस्ट्रेलियन सखा !
ए, मेरो जापानी सहकर्मी !
म ढुक्क छु
मजस्तै तिमी पनि
आफू बाँच्ने र अरूलाई बँचाउने अभियानमा लागेका छौ
सङ्कटसँग जुध्नु आफैँमा एउटा तपस्या हो
म विश्वस्त छु
मजस्तै तिमी पनि
आत्म–विश्वासको आकाश उकास्न लागिपरेका छौ

छलको आयु
मात्र पलभरका लागि हो बन्धु !
हाम्रो विश्वासको अगाडि
हार्नेछ यसको विध्वंश
र, निश्चित छ यो छली कोरोना !
बुर्कुसी मार्दै आफैँ हामीबाट छलिने छ
अनि फेरि नीलो आकाश आढेर
निस्कने छौँ हामी सडकमा
र, एकापसमा अँगालो हालेर
म्वाइका फूलहरू फुलाउने छौँ
जीवनका गीतहरू गाउने छौँ

यत्ति हो—
अहिले हामी तपस्यामै छौँ ।