• २०८१ बैशाख १६ आइतबार

मरिना स्विताएवाका दुई कविता

मरिना स्विताएवा

मरिना स्विताएवा

छैन कुनै गुनासो

केही सोचेको छैन
कुनै गुनासो पनि छैन
न कुनै विवाद, न निद्रा
न सूर्यको चाहना, न चन्द्रको
न समुद्रको, न जहाजको ।

थाहै पाउँदिन गर्मीको
यी पर्खालहरूभित्र
देख्न सक्तिनँ हरियाली
बाहिरका बगैँचाहरूको
प्रतीक्षा हुन्न अचेल
ती उपहारहरूको
जसलाई पाउने पहिलेपहिले
खुबै चाहना हुन्थ्यो ।

न बिहानको मौनता मनपर्छ
न साँझपख आउने ट्रामको सुरिलो आवाज
बस् ! बाँचिरहेको छु–
कस्तो थियो हिजो ? कस्तो छ आज ?
बिर्सिन्छु, कति गते हो आज ?
कुन शताब्दी हो यो ?

यस्तो लाग्छ, मानौँ-
कुनै थोत्रो पालभित्र
म एउटा सानी नर्तकी हुँ
छायाँ हुँ अरू नै कसैको
पागल हुँ-
दुई अँध्यारा चन्द्रमाहरूले घेरिएकी ।

चुम्बन

निधारमा गरेको चुम्बनले
मेटिदिन्छ दुर्भाग्य-
म चुम्छु तिम्रो निधार

आँखामा गरेको चुम्बनले
लगिदिन्छ अनिद्रा
म चुम्छु तिम्रा आँखा

ओठमा गरेको चुम्बनले
मेटिन्छ सबैभन्दा गहिरो प्यास
म चुम्छु तिम्रा ओठ

निधारमा गरेको चुम्बनले
मेटिदिन्छ स्मृति-
म चुम्छु तिम्रो निधार ।

अनुवाद: राजेन्द्र शलभ