भत्क्यो
तिमीले रचेको रचनाको
गर्भ भत्क्यो
भत्क्यो
तिमीले सिर्जेको
भूतलको सतल भत्क्यो
बोकेर आशाका हजार किरण
हर प्रभात
तिम्रो कलममा ब्यूँझने
सूर्य भत्क्यो
थाकेर लखतरान
तिम्रो काखमा निदाउने
जूनको कोमल कम्पन
भत्क्यो
लेखिन बाँकी थियो
हृदयको पत्रपत्रमा लुकेर बसेका
दुःखका अथाह अनुरागहरू
भत्क्यो
घरिघरि हावाले उडाई ल्याउने
साउतीका स्वरहरू
हिँड्दा हिँड्दै रोकिएका
पाइतलाका डोबहरू
भत्क्यो
ससाना नानीहरू
त्यही बुर्कुच्ची खेल्थे
तिनका अट्टहासले उन्माद छाउँथ्यो
भत्क्यो
भित्ता भित्तामा खोपिएका
तिनको स्पर्श भत्क्यो
भन्छु भनेर
भन्न बाँकी रहेका
लेख्छु भनेर
लेख्न बाँकी रहेका
अनुभूतिको लय भत्क्यो
तान्न बाँकी थिए
चुरोटका केही खिलीहरू
गाउन बाँकी थिए
मुनामदनीका केही गीतहरू
फक्रनै लागेको चारूको प्रेम र
आँसुले भरिएको शाकुन्तलको नयन
अचानक भत्क्यो
अनुरागहरूले भरिएको
लजाउँदानि उज्यालिएको
वेला कुवेला रचिएको
बज्यैसँगका सुमधुर पल भत्क्यो
भत्क्यो
इतिहासमा लेखिने
लेखेर कहिल्यै नसकिने
आकाश जस्तै फैलिएको
एउटा युग
अनाहक भत्क्यो
भत्क्यो
धूप कुहिरोजस्तै उडिरहने
भावनाको भाव भत्क्यो
भत्क्यो
तिमीले देखेको
‘सुन्दर, शान्त र विशाल’ नेपालको
सुकुमार सपना भत्क्यो ।
००
(हाम्रा समादरणीय महाकविलक्ष्मीप्रसाद देबकोटाको घर भत्काइएपछि उत्पन्न तरङ्गमाथि लेखिएको एक काव्यात्मकअनुभूति ।)
विश्वबिमोहन श्रेष्ठ स्थापित साहित्यकार
[email protected]