
काठमाडौं, साहित्यकार विश्वराज अधिकारीको पछिल्लो कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सचिव तथा कवि डा. शोभाकर पराजुलीलगायतले उक्त कृति सार्वजनिक गर्नुभयो । अधिकारीले यस कृतिमा संस्कृत भाषाका महाकवि कालीदासको काव्यकृति मेघदूतको व्याख्यासहित नारी- पुरुष प्रेमका प्रसंगहरू प्रस्तुतगर्नु भएको छ ।
कार्यक्रममा साहित्यकार खेमराज पोखरेलको समालोचनाहरूको संग्रह ‘पाठकीय संदृष्टि’ माथि परिचर्चा गरियो । कार्यक्रममा डा. फणिन्द्रराज निरौलाले ‘पाठकीय संदृष्टि’ समालोचना संग्रह भएपनि कृति आत्मपरक निबन्ध जस्तो लाग्ने उल्लेख गर्नुभयो । समालोचना गर्दा समालोचक तटस्थ नबसेकोमा उहाँको गुनासो थियो ।
डा. दीनबन्धु शर्माले समालोचकीय कृतिलाई उत्तर आधुनिकतामा राख्नु पर्ने भन्दै समालोचनामा विधा भञ्जन भएको बताउनुभयो । उहाँले पुस्तकको भाषा शैली स्वादिलो भएपनि प्रस्तुतिकरण सच्याउनुपर्ने भन्दै खरो टिप्पणी गर्नुभयो ।
प्रा. डा. कुमारप्रसाद कोइराला, डा. शैलुन्दुप्रकाश नेपालले समालोचना परम्परागत नभइ फरक स्वादमा आएको बताउनुभयो ।
श्रीओम श्रेष्ठ रोदनले संख्या जुलुसमा मात्रै काम लाग्ने तर साहित्यमा काम नलाग्ने भन्दै लेखकले पुस्तकको संख्या बढाउनु भन्दा पुस्तकको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
राजकुमार बानियाले नेपाली साहित्यमा हरियाली छाएको तर त्यो घना रूख नभएर घाँसफुस मात्रै भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा भूपराज धमला, खेमराज पोखरेल, कुमार खनाल, राजेश खनाल, विश्वराज अधिकारी, लक्ष्मीनारायण भट्टराई, केदार आचार्य, ज्ञाननिष्ठ ज्ञवाली, राजेन्द्रमान डंगोल, श्रीओम श्रेष्ठ रोदन, शैलुन्दु नेपाल, मुरली अधिकारी, फनिन्द्र निरौला, डा. दीनबन्धु शर्मा, श्रीराम राई लगायतको उपस्थिति रहेको थियो ।