• २०८० जेठ १४ आइतबार

ढुङ्गा

अमजद नसिर

अमजद नसिर

मैले ढुङ्गालाई भनेँ- म तिमीजस्तै छु !
ढुङ्गाले भन्यो- तिमी त्यस्तो लचिलो छैनौ !
म भन्छु- के मेरो मुटु तिमीजस्तो छैन ?
उसले भन्यो- तिमीलाई केवल मेरो
बाहिरी स्वरूप थाहा छ ।
मैले भनेँ- भन्नाले तिमी पनि महसुस गर्नसक्छौ ?
उसले जवाफदियो- अवश्य ! कहिलेकाहीँ मेरा आँखा पनि रसाउँछन्
तर म तत्कालै आफूलाई सम्हाल्छु । यो मेरो प्रकृति हो ।
मैले उसलाई सोधेँ- हो मेरो पनि जीवन छ । तर यो सहजै पढ्न सकिन्न ।
लौ सुन, म पहिले घुँएत्रो थिएँ, त्यसपछि म स्लाब बने ।
एक फेर म एउटा पुल बनाउनमा प्रयोग गरिएँ ।
अनि एकचोटि समुद्री छाललाई रोकी रहेको थिएँ ।
र अहिले म यहाँ छु तिम्रा सामुन्ने, परित्यक्त ।
मैले ढुङ्गालाई सोधेँ- त्यसो भए तिमी विलीन हुँदैनौ ?
उसले भन्यो- हुँदिनँ, कहिले पनि । तिमीहरू आउँछौ- जान्छौ
केहीले मेरो ढाडमा कोमल हत्केलाको न्यानो छाप छोडेर जान्छन्
अरूले मेरो छातीमा गोलीको प्वाल पारेर जान्छन्
र म यो दुईबीचको अन्तर राम्ररी बुझ्छु ।

अनुवाद:  राजेन्द्र शलभ