आजभन्दा ६८ वर्ष पहिले
साउन ४ गते टेबहालमा जन्मिएँ
बुबा ज्योतिष/आयुर्वेदका ज्ञाता
अनि हारमोनियम लिएर
रामायणको कथा गाउने पण्डित
आमा पनि लेखपढ गर्न जान्ने
हामी आठ सन्तान थियौँ
म दुई वर्ष हुँदा नै आमा बित्नुभयो
बुबालाई पनि म आठ क्लासमा हुँदा
प्यारालाइसिस भयो ।
जेठो/माइलो दाइ पनि विवाह गरेर छुट्टिए
मलाई साइँलो दाइ तीर्थनारायणले
पढाउनुभयो, जीवन बुझाउनुभयो
उहाँले गर्दा नै म बाहिर निस्किन सकेँ ।
नेपाल आदर्शपछि
पद्मकन्या कलेजबाट स्नातक
अनि त्रिचन्द्रबाट समाजशास्त्रमा स्नातकोत्तर गरेँ
साइँलो दाइले गर्दा नै
नैकाप विद्यामन्दिर निमाविमा पढाउन सुरू गरेँ
यो २०३४ सालको कुरा हो
बसबाट नैकाप अनि हिँडेर स्कुल पुग्नुपर्ने
स्कुलमा ब्ल्याकबोर्डसम्म छैन
काठको टुक्रामा लेख्नुपर्ने
विद्यार्थी पनि मैला र जुत्ताविना
सक्दिनँ जस्तो लाग्यो
र दाइलाई त्यहाँको सबै दुःख भनेँ ।
दाइले सम्झाउनु भो
यहाँ त यस्तो छ अझ दुर्गममा कस्तो होला
तिमीले नेपाल चिन्नुपर्छ
तिम्रो आवश्यकता छ- त्यो स्कुललाई
एक- दुई वर्ष गरी हेर्ने भनेर सुरू गरेँ ।
ठूलो विभेद थियो त्यो स्कुलमा
जातीय विभेद, पानी छुन नहुने
अनि केटाहरू मात्र स्कुल आउने
केटीहरूलाई स्कुल नपठाउने
बिस्तारै त्यो सबै विभेद हटाउन सकियो
र मन त्यहीँ रमाउँदै गयो
अनि निमाविलाई मावि बनाइयो
शिक्षकबाट असिस्टेन्ट हेडमास्टर भएँ
यसरी लगातार ३४ वर्ष पढाएँ ।
अनि अर्को कुरा
त्यही स्कूलमा नै स्नेह साय्मिसँग भेट भयो
उहाँ म्याथ पढाउन आउनुभएको
म चाहिँ म्याथ र साइन्सबाहेक सबै पढाउँथेँ
स्नेह स्वंसेवक भएर आउनुभएको थियो
त्यहीँ राम्रो चिनजान भयो
दुवै कविता लेख्ने भएर विचार मिल्यो
आत्मीयता बढ्यो- मित्रता बढ्यो
प्रेम नै हो भन्ने त धेरैपछि थाहा पायौँ
र सँगै बस्ने सोच बनायौँ
तर जातीय कारणले अलिक गाह्रो भो
पछि २०४४ सालमा विवाह गर्यौ ।
माइतीमा स्वतन्त्र थिएँ
हौसला दिन/सघाउन दाइ हुनुहुन्थ्यो
घरमा बुहार्तन गाह्रो भयो
दाउरामा पकाउनुपर्ने १०/१२ जनाको खाना
तर बुहारी भएकाले गर्नै पर्यो/गरेँ
पछि बच्चाहरू भए
६/७ वर्षपछि देवरहरूको पनि विवाह भयो
हामी सबै छुट्टिएर बस्यौँ
भान्सा छुट्टियो/काम छोट्टियो/सजिलो भो ।
साथीभाइहरू आउँथे- कुराकानी हुन्थ्यो
बिस्तारै पढ्ने/लेख्ने माहौल बन्यो
स्नेहले पनि हौस्याउनु हुन्थ्यो
परिजातले पनि लेख्ने हौसला दिनुहुन्थ्यो
परिजातसँग चिनाएको पनि स्नेहले नै हो ।
फेरि चाहेजस्तो वातावरण बन्यो-
२०५० मा ‘आगोको याम’
२०५५ मा ‘आरुका फूलहरू’
यी दुवै सङ्ग्रहलाई मिसाएर ०७४ मा
‘आमा तिम्रो नाम के हो ?’ प्रकाशित भयो
२०७४ मै ‘तोरी फुल्ने खेत’ पनि निस्कियो ।
यसरी समय सजिलो हुँदै गएपछि
कीर्तिपुर विकल्प सहकारीको
महिला एकाइमा काम गरेँ
दुईपटक ‘प्रलेस’ को केन्द्रीय सदस्य भएँ
पारिजात- स्मृति केन्द्रको सदस्य- सचिव
अनि अध्यक्ष नै भएर काम गरेँ ।
साइँला दाइले गर्दा नै
वाम- राजनीतिमा झुकाव बढेको हो
कलेज पढ्दा युनियनमा लागेँ
२०२८ सालमा नयाँ शिक्षाको विरोध गरियो
यसरी राजनीतिमा लागेर
गहना लाउन छोडेँ
राजनीतिले नै मलाई चेतना दियो
विभेदसँग जुध्ने विवेक दियो
तर अहिले लाग्छ-
बेकारमा समय पो बर्बाद गरेँ कि ?
प्रज्ञा- प्रतिष्ठानको सदस्य
कविताले बनायो कि राजनीतिले
स्पष्ट जवाफ छैन मसँग !
तर कविताले आत्मसन्तुष्टि दिन्छ
राम्रो कविता लेखेको दिन
एउटा सन्तान जन्माए जस्तो लाग्छ ।
अझै लेख्ने हुट्हुटी छ
व्यस्तता र परिवारको बिरामीले गर्दा
अचेल लेख्नै भ्याउँदिनँ ।
तर लाग्छ, गतिलो कविता लेख्न पाए हुन्थ्यो ।
अहिले कुनै पछुतो, असन्तोष
वा रिस- राग केही छैन
सन्तुष्ट छु- परिवारसँग/ श्रीमानसँग
चाहेको गर्न पाएकै छु
बस् समयले साथदियो भने
देश- दर्शन गर्ने मन छ ।
राजेन्द्र शलभ
[email protected]