• २०८१ पौष २९ सोमबार

हाम्रो माया

बसन्त चौधरी

बसन्त चौधरी

मैले सपनाहरूको
सुन्दर फूलबारीमा
तिमीलाई राखेँ
तिमी धेरै कालसम्म
कोपिला र फूल भै
प्रणयका ऋतुहरूमा
फुलिरह्यौ, फक्रिरह्यौ

मुटुभरि सुवास बग्यो
सास बग्यो, आश बन्यो
प्रणयको अभिलाषासँग
कोपिला सौन्दर्य बन्यो
बन्दाबन्दै
एउटा स्वप्निल मूर्तिको आवास बन्यो

तर क्रुर दुनियाँले
देख्न सकेन
त्यसले सारा दृश्यलाई
आफ्नै अदृश्य हातले
भत्काइदियो
मायाको सुन्दरतालाई
बिगारिदियो

तत्पश्चात् मेरो माया
त्रास बन्यो
हुरी–बतास बन्यो
ऋण बन्यो, ह्रास बन्यो
फूलको संसार
जूनको शीतल हार
चुँड्यो, झर्यो, छरियो

अन्त्यमा मेरो माया
कहिल्यै नउघ्रिने खग्रास बन्यो
हाम्रो जीवनको इतिहास बन्यो ।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)