काठमाडौं, नेपाली शिक्षा परिषदले साहित्यकारद्वय चित्तरञ्जन नेपाली र रामप्रसाद पन्तलाई पुरस्कार प्रदानगर्ने भएको छ । परिषदले नेपालीलाई आदिकवि भानुभक्त पुरस्कार र पन्तलाई गोपाल पाँडे असिम पुरस्कार प्रदानगर्ने भएको हो । परिषदले साढे सात दशकदेखि नेपालीवाङ्मयको संवद्र्धनमा विशिष्ट योगदान पुर्याए वापत नेपालीलाई रु. १ लाख २५ हजार राशि सहितको उक्त पुरस्कार प्रदानगर्ने निर्णय गरेको हो ।
यस्तै परिषदले संस्थागत रुपमा विभिन्न रचनात्मक क्रियाकलाप द्वारा नेपाली, भाषा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरे वापत पन्तलाई रु. ५० हजार राशि सहितको उक्त पुरस्कार प्रदानगर्ने निर्णय गरेको हो ।
परिषदका अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको परिषदको प्रबन्ध समितिको बैठकले नेपाली र पन्तलाई पुरस्कार प्रदानगर्ने निर्णय गरेको अध्यक्ष शर्मा द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यी पुरस्कार परिषदको ७२ औँ वार्षिकोत्सवको समारोह २०७९ साउन ३१ गते प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । आदिकवि भानुभक्त पुरस्कार २०५२ साल र गोपाल पाँडे असिम पुरस्कार २०५० सालबाट प्रदानगर्न सुरु गरिएको हो ।