कहानी-मैथिली

समयका कथा-व्यथाले
कोरिएका जीवनका फाँटहरू
साँझको पहेँलो किरणजस्तै
अनुभूतिले पाकेका बालाहरू
हृदयमा झुल्छन् भावहरूको सुवास बनेर
कहिले सुसाउँछन् चैतको बतास बनेर
यो आत्मरूपी निस्पृह सानो दीपक
बलिरहन्छ, जलिरहन्छ
आँधीहुरी र अन्धकारको माझ
अनुरागको क्षणमा कहिले विराग सुसेल्दै
विरागको क्षणमा कहिले आशाले गाउँदै
जीवनले चढेका र झरेका
उकाली-ओरालीहरूमा
भेटिएर छुट्टिएका
यात्री र सहयात्रीहरूमा
आँसु र हाँसोका फरकफरक गोलार्द्धमा
अशेष अनुभूतिलाई
प्राणसँग थाती राख्दै
बितेका पलहरू
र आउने पलको मध्यमा
हृदयले यही कामना गर्छ
क्षणमय जीवनका यी तत्त्वमाझ
अनित्य रङका ऋतुहरूका साथ
जीवन सङ्गीतमय बनोस् !
जीवन गीतमय बनोस् !
जीवन छन्दमय बनोस् !
जीवन कवितामय बनोस् !
र
सफल रहोस् मानुष- जीवनको यो यात्रा ।
साभार: तिमीविनाको म
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)