• २०८१ फागुन ६ मङ्गलबार

शिलापत्र

दीपक चौलागाई

दीपक चौलागाई

खस्रो र उबडखाबड आदिवासी शिला
गर्याै अपहरण
शक्तिको तिखो छिनोले ताछेर
मिलायौ चौकुना
घोटेर पार्याै मिहिन र समतल
बदल्यौ इच्छा, आवश्यकता अनुकुल

दूरदेशबाट झिकायौ
भाडामा कुनै आशुकवि
कुनै आदिम लिपिमा
भावनाको कोमल कुनामा
कोर्न लगायौ
आत्मश्लाघाका रोमाञ्चक चरित्र गान

देखाएर
द्वैत सत्ताको आस र त्रास
दबाएर
अन्तर्मनको स्वतन्त्र धुन
कुँद्न लगायौ
फरमानका धारा र उपधाराहरू
र टांग्यौ मलाई
सञ्चारका प्राचीन पधेराहरूमा
पाटी–पौवा, चोक र चौबाटोहरूमा

त्यही बेलादेखि
मलाई
मेरो अनुहारको उज्यालो खोसेर
आफ्नो मुहार चम्काउने
फगत साधन बनायौ
र छाया झैं
ओझलिदै गयो मेरो सक्कली अनुहार

हो त्यही बेलादेखि
शरणार्थी झैं कुरेर चौबाटो
तिमीले कोरेका बासी आदर्शहरू
पढाइरहेछु दुनियाँलाई

उफ् !
कति बस्नु बुख्याचा झैं
यी चौबाटोहरूमा
विरागका निर्मम मरघटहरुमा
यी चौतारीहरूमा
हुँदैन अचेल रैतीहरूको जमघट
बज्दैनन् आदेशका नगराहरू
बस्दैनन् पञ्चसभा वा कचहरिहरू
इतिहासको लेउ लागेका
म्याद नाघेर छेउ लागेका
परतन्त्रका प्रशस्तिहरू घोकाउँदै
कति उभिइरहनु अभिशप्त शिला जुनी

बस्दिन अब टांगिएर
कपटका खुनी पटांगिनीहरूमा
इतिहासका शकुनि चोकहरूमा
यी जीर्ण स्तम्भहरूमा
विषमताका सिमान्त पर्खालहरूमा
कहरको यो रापिलो घाममा
हन्डरको चिसो ठिहीमा
झरेका पातहरूको मृत्युको कोरस सुन्दै

उतारेर भ्रमको सुन्दर पर्दा
उदाङ्गो पारिदिन्छु अब
प्रसिद्धिभित्र लुकेको
बर्बरताको तिम्रो साँचो इतिहास

युगीन चाहनाको घाँटी निमोठेर
कसरी बनेका थियौ महान चिन्तक
कसरी बनेका थियौ दूरदर्शी
प्रजाको पसिनामा पौडी खेलेर
कसरी बनेका थियौ प्रजावत्सल
कसरी बनेका थियौ करूणानिधान

कसरी बनेका थियौ धर्मभीरू
कसरी बनेका थियौ बहादुर योद्धा

उघारेर झुटको सुनौलो अन्तर्पट
उजागर गर्छु अब
समयको तिम्रो सक्कली अनुहार ।


दीपक चौलागाई