• २०८१ चैत ६ बिहीबार

कवि डा. राजेन्द्र कोजूका ‘इमानको धरहरा’ सार्वजनिक

भक्तपुरका कवि एवं शिक्षाकर्मी डा. राजेन्द्र कोजूको पाँचौ कविता कृति ‘इमानको धरहरा’ सार्वजनिक भएको छ । उनको कविताकृति ‘इमानको धरहरा’ शुक्रबार विमोचन गरिएको हो । सो कृतिको विमोचन वरिष्ठ साहित्यकार एवं समालोचक डा. देवी नेपालले गरेका हुन् ।

सो कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नेपालले पछिल्लो समय देशमा बेइमानहरू बढिरहेकाले बेइमानहरूलाई इमान सिकाउन लेखकहरूले लेखनीमार्फत ध्यान दिनुपर्ने बताए । उनले लेखकहरू पनि राजनीतिबाट मुक्त हुन नसक्ने बताउँदै फोहोर राजनीतिलाई सफा गर्न र समाजका खराब विषयलाई खबरदारीका लागि साहित्य सिर्जना जरुरी रहेकोमा जोड दिए । यस अघि कवि डा. कोजूका घोडा उसको वा ऊ घोडाको, विशेषणमा बाँचेको देश, चित्र र चरित्र र हृदयका प्रतिविम्ब कृति छापिएका छन् । उक्त विमोचित कृतिमा ५८ कविता छन् ।

कार्यक्रममा डा. कोजूले विमोचित कृतिबाट ‘विद्रोहको आगो’ र ‘बाबा छोरीको संवाद’ कविता वाचेका थिए । कार्यक्रममा शिक्षाकर्मी एवं क्वालिटी सेकेण्डरी स्कुलका प्रिन्सिपल जिबी खड्काले डा. कोजूको शैक्षिक र साहित्यिक यात्राबारे चर्चा गरे ।

सो क्रममा कवि जितेन्द्र रसिकले डा. कोजुको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए भने चाँगुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेलले शुभकामना दिएका थिए ।