प्रसिद्ध हिन्दी चलचित्र अभिनेता दिलिप कुमारलाई आमदर्शक- समीक्षक जसरी यो नामले चिन्छन् र जसको अभिनयलाई उदाहरण मान्छन्, उनलाई सुरुमा न चलचित्रमा काम गर्ने रुचि थियो, न त उनले कुनै आफ्नो खास नामको साटो अर्को नामबाट प्रसिद्धि पाउँछु भन्ने कल्पना गरेका थिए ।
दिलिपका पिता मुम्बईमा फलफूलका कहलिएका व्यापारी भएकाले दिलिप कुमार आरम्भदेखि नै पारिवारिक व्यापारमा आवद्ध भए । त्यतिवेला उनी व्यापारी मोहम्मद सरवर खानका छोरा मोहम्मद युसुफ सरवर खानका नामले चिनिन्थे ।
एक दिनको कुरा हो, कुरैकुरामा बाबु- छोराबीच चर्काचर्की भयो र दिलिप आफ्नै खुट्टामा उभिने प्रण गरेर घर छाडेर पुना गए । अङ्ग्रेजी बोल्न जान्ने भएकाले उनले पुनाको बृटिस- आर्मीको क्यान्टिनमा सहायकको काम पनि पाए । अलि पछि उनले आफ्नै स्यान्डविच काउन्टर चलाए, जुन स्यान्डविच अङ्ग्रेजी सैनिकमा लोकप्रिय पनि भयो । तर एक दिन यस काउन्टरमा भारत स्वतन्त्रता आन्दोलनका समर्थकहरूको भेला राखिएकाले दिलिप कुमारलाई गिरफ्तार गरिएपछि यो काउन्टर स्वतः बन्द भयो ।
त्यसपछि युसुफ खान फेरि बम्बै फर्किए र पिताजीलाई सघाउन थाले । उनले सिरानी बेच्ने काम पनि गरे तर सफल भएन । पिताजीले उनलाई नैनीताल गएर स्याउको बगैँचा खरिद गर्ने काम दिए र उनले एक रुपियाँमा अग्रिम भुक्तान गरेर फर्के । हुन त यसमा बगैँचा मालिकको भूमिका बढी थियो तर पिताजीले युसुफलाई धेरै स्याबासी दिए । यसरी नै जीवनको गाडी चल्दै थियो । अकस्मात युसुफको साक्षात्कार देविका रानी नामक एक महिलासँग भयो । देविका तत्कालीन प्रसिद्ध बम्बै टाकिज फिल्म प्रोडक्सन हाउसकी सञ्चालिका थिइन् । उनी अभिनेत्री सँगसँगै अत्याधुनिक र दूरदर्शी महिला पनि थिइन् । पहिलो भेटमै युसुफलाई देविका रानी प्रतिभाशाली लागिन् । डा. मसानीले युसुफको परिचय गराएका थिए ।
देविकाले पहिलो भेटमा सोधेको पहिलो प्रश्न थियो- ‘तिमी अभिनेता बन्छौ ?’ यो प्रश्नसँगै उनले युसुफलाई मासिक १२ सय ५० रुपियाँको नोकरी दिने पनि प्रस्ताव राखिन् । डा. मसानीले यो प्रस्ताव स्वीकार गर भनेर युसुफलाई इसारा गरे । तर उनले प्रस्तावका लागि धन्यवाद दिँदै भने- ‘मलाई न त अभिनयको अनुभव छ, न त चलचित्रबारे ज्ञान ।’ अनि देविकाले उनलाई सोधिन्- ‘तिमी फलफूल व्यवसायबारे कतिको जानकार छौ ?’ उनले भने- ‘सिक्दै छु ।’
अनि देविका रानीले युसुफ खानलाई भनिन्- ‘तिमी फलफूलको व्यवसाय र फलफूल खेतीबारे सिक्दै छौ भने चलचित्र-निर्माण र अभिनय पनि सिक्न सक्छौ ।’ उनले के पनि भनिन् भने ‘मलाई एक युवक, आकर्षक र शिक्षित अभिनेताको खाँचो छ । र मैले तिमीमा एक योग्य अभिनेता हुनसक्ने प्रतिभा अनुभव गरिरहेछु ।’
सन् १९४३ मा १२ सय ५० रुपियाँले कति अर्थ राख्थ्यो, यसको अनुमान युसुफले यो रकम प्रति महिना पाउने पक्का हो ? भनेर डां मसानीलाई देविकासँग निधो गर्न अनुरोध गरेबाट पनि थाहा हुन्छ । जब देविका रानीले हो भनिन् अनि मात्र युसुफले बम्बै टाकिजको अभिनेता हुन स्वीकार गरे ।
उनी बम्बै टाकिजमा शशीधर मुखर्जी र अशोक कुमारलगायत अन्य प्रख्यात अभिनेताबाट अभिनय कौशल सिक्न थाले । यसका लागि उनलाई बिहान १० देखि साँझ ६ बजेसम्म स्टुडियो बस्नु पथ्र्यो ।
एक दिन बिहान उनी स्टुडियो पुग्दा उनलाई देविकाले आफ्नो कार्यकक्षमा भेट्न बोलाइन् र अङ्ग्रेजीमा भनिन्– ‘युसुफ म तिमीलाई शीघ्रातिशीघ्र अभिनेताको रूपमा घोषणा गर्न चाहन्छु । तर अभिनेताको रूपमा तिम्रो नाम फरक हुनुपर्छ । किनभने नामले धेरै ठूलो अर्थ राख्छ । नाम यस्तो हुनुपर्छ, जुन नाम आमदर्शकलाई पनि राम्रो लागोस् र त्यसमा तिम्रो रुमानी छविसँग जोडेर हेरुन् । यसका लागि दिलिप कुमार सुहाउँदो नाम हुन्छ । तिमीलाई यो नाम कस्तो लाग्यो ?
यो सुनेर उनी निःशब्द भए । उनी यो नयाँ नामका लागि तयार थिएनन् । तर पनि देविका रानीको मन राख्न भनिदिए– ‘नाम त सारै राम्रो लाग्यो तर के नाम परिवर्तन गर्नु आवश्यक छ ?’ देविकाले मुस्कुराउँदै भनिन्- ‘यसो गर्नु बुद्धिमत्तापूर्ण हुन्छ । मैले धेरै सोचेरै यसो गरेकी हुँ ।’ उनी देविकाको तर्कमा सहमत त भए तर उनले यसबारे विचार गर्न समय मागे । देविकाले समय दिइन्- ‘ठीक छ विचार तर छिटो ।’
शशिधर मुखर्जीले पनि युसुफलाई यो नाम सटिक छ भनेर सम्झाए । त्यसपछि युसुफ खान दिलिप कुमारमा परिवर्तित भए र अमिय चक्रवर्ती निर्देशित ‘ज्वारभाटा’ चलचित्रको सुटिङ्मार्फत हिन्दी सिनेमा जगत्मा प्रविष्ट भए । सन् १९४४ मा प्रदर्शित ‘ज्वारभाटा’ दिलिप कुमारको पहिलो चलचित्र थियो तर यो चलेन ।
दिलिप कुमार अभिनीत पहिलो चलचित्र– ‘ज्वारभाटा’ को पोस्टर
तर लाहोरबाट प्रकाशित हुने ‘सिने हेराल्ड’का सम्पादक बी आर चोपडा (जो पछि विख्यात चचित्रकर्मी बने)ले दिलिप कुमारको अभिनय क्षमताको मूल्याङ्कन गरे । उनले त्यस पत्रिकामा ‘दिलिप कुमारले जसरी संवाद सम्प्रेषण गर्छन्, त्यसले उनलाई अरू अभिनेताभन्दा पृथक राख्छ’ भनेर लेखिदिए । भलै पहिलो फिल्म चलेन तर देविका रानीको अनुमान मिथ्या पनि भएन । अनि अशोक ‘कुमार’ पछि अएका यी ‘कुमार’ को अभिनय हिन्दी चलचित्रमा यसरी चम्कियो जीवनभरि चम्किनै रह्यो र उनलाई पछ्याउँदै त्यसपछि भारतीय चलचित्रमा कैयौँ ‘कुमार’ देखापरे । उनले मात्र ६० वटा चलचित्रमा काम गरे तर यति चलचित्रले नै उनलाई हिन्दी फिल्मजगत्को ‘बादशाह’ र ‘ट्र्याजेडी किङ्’ का रूपमा अमर बनाइदिए ।