• २०८१ माघ ११ शुक्रबार

सम्झनामा दशै…

छवि किरण ओली

छवि किरण ओली

शरणार्थी भयर फेरि आयो दशै र तिहार
महँगीको मालश्री गाउँदै
आतंकको मुस्कान बोकेर
अलखधारी झै
अलख जगाउदै

लाग्छ
विधवाको निधार पर्खिरहेको
सेतो अच्छेता झै
बेरंगीन सपनाहरू
रंगीन बनेर फुल्ने छन्
जसरी फुल्छन्
बारीको डिलमा
सयपत्रीर मखमली
प्रभातको शीत निल्दै
तारकिणीमा प्रज्वलित आकाश
तारापुञ्जको चलचित्र हेर्दै
निदाएको भरियाको
मुस्कुराहट संगै
लेकबेसिमा बहेली खेलिरहेछ
आलीलाई स्पर्श गर्दै
लहलह धानका बाला
त्यसैले त फेरि आयो
दशै तिहार।।।।

निस्तब्ध र कुरुप बस्तीमा
भित्रिदै मुलुक बाट
रातो माटो र
कमेरोले घर चोख्याउने मनहरू
चिचि पापा
नयाँ लुगा भन्दै
कोक्रामा खेलिरहृका
छोराछोरीको रहर बोकेर
ऊ सोच्दै छ
खल्ती को तमासुक छामेर
साहुले म्याद थप्छकी थप्दैन
बन्धकी खेत
अन्तस्करमा भेटभती भएपछि
सिकुवामा उम्रन नसकेको
जमरा झै
चाउरिएका बृद्ध बा आमाको
अनुहारमा मुस्कानको
उज्यालो दियो सल्काउनु छ उसले
खरुकी उम्रिएको घरको छानो
फेर्नु छ उसले
अनि सजाउनु छ शालीन सपनाहरू
दशैको बेलामा।।

जिउँदो मृत्युको साईत पर्खेर
अँध्यारोमा ऐठन हुन्छन्
खसी बोका र च्याङग्रा
खरबारीमा लिंगे पिङ हालेर
मालश्री गाउँछन् घसेनीहरू
पीर ब्यथा भुलेर
त्यसैले त दशै तिहार आए जस्तो लाग्छ
ब्राह्मणको छातीमा
उभिएको शैलकुटले
कलिलो घामको लाली संगै
चिसो सिरेटो पिएपछि लाग्छ
दशै आए जस्तो
टाँकीका सेता फूलको
हार्दिकता संगै
शयर गरे पछि पो
लाग्छ दशै आय जस्तै
निम्सरो आङमा
ममताको पोशाक लगाए पछि
उन्मादको चङ्गा झै
रमाउछन् बालशुलभ मनहरू
र पो दशैं तिहर आए जस्तो लाग्छ।।

ध्रुवताराको उज्यालोमा
धर्ती को शयनमा
भोकको निन्द्रमा सुत्नेलाई
अनुकम्पाले लाग्छ दशै आए जस्तो
कुरुप बिहान नझुल्कियोस
सेतो बस्त्रधारी द्रौपदीको
उद्द्गार सुनेर
उमङको साईतमा
रंगीन बनुन
दलिन चौगारा पाटी पौवा

फलैचाहरू
जूनझै उदाउनु यी पाखा पखेरा
दशाको कफन ओडायर
पिरको आँशुले होलि नखेलोस्
गरीबको मजेरीले
रक्तस्रावले पोतिएको भूगोलमा
शान्तिको शङ्खघोषले
ब्यूँझाओस क्षितिजका बस्तिलाई
शक्तिपीठमा रगतको प्रसाद लिन लामबद्ध भक्तहरू
उसकै आँगनमा

हात नजोडोस् भोकले
टीका र जमर झैं मौलाओस भातृत्व
यही छ भावना
विजया दशमीको मंगलमय शुभकामना।।।।।।


छवि किरण ओली, बिर्तामोड नगरपालिका वाड् ०३, सैनिकमोड झापा नेपाल
[email protected]