• २०८१ श्रावाण ११ शुक्रबार

घरदेशमा दशैँ आयो रे !

पुष्पा खनाल

पुष्पा खनाल

नयाँ रङ्ग, नयाँ ढङ्ग उत्साह र उमङ्गले
गाउँघरको मुहार पनि फेरियो रे प्रसङ्गले
सयपत्री भन्छ मलाई, घरदेशमा दशैँ आयो रे !

ललाबाला चचहुई, चहचह मच्चिएका
आमा दिदी घरआँगनी लिपपोतमा कस्सिएका
मखमली भन्छ मलाई, घरदेशमा दशैँ आयो रे !

कमेरो र रातो माटो डोको भरि रमाएको
बाले पैसा साटी ल्याए वर्षभरि कमाएको
जमराले भन्छ मलाई, घरदेशमा दशैँ आयो रे !

रातै भरि नसुतेर गाएका छन् जाँतो ढिकी
घर आँगनी चिटिक्क छ, गोबरले लिपीलिपी
अक्षताले भन्छ मलाई, घरदेशमा दशैँ आयो रे !

फूल्यो अरे मखमली, सयपत्री रमाएर
केटाकेटी फुरूङ्ग छन् हातमा पैसा समाएर
शरदले भन्छ मलाई, घरदेशमा दशैँ आयो रे !

पातालमा पसेपछि के को दशैँ  के को तिहार
बन्दी जीवन दौडँदो छ, नसुतेर चारै प्रहर
देश भन्छ फर्क नानी, घरदेशमा दशैँ आयो रे ! !


पुष्पा खनाल, इलाम
[email protected]