• २०८२ असार १७ मङ्गलबार

खुसीको रहस्य

प्रवेन्द्र पण्डित

प्रवेन्द्र पण्डित

रमेश उदास मनले पैदलै कारखानाबाट घरतिर लाग्यो । मनमा विचारहरूको मन्थन चलिरहेको थियो । आखिर पाँच हजार तलबले सिङ्गो महिनाको घरखर्च कसरी चल्छ । स्वास्नी र एक सालको अबोध बच्ची, दाल-चामलमा खर्च गरिसकेपछि एक रुपियाँ पनि बचाउन कठिन हुन्छ ।

आधी बाटो पुगेपछि उसले हलकु बेलदारको डेरा देख्यो । ऊ एउटा नीमको रुखमुनि पाल टाँगेर बस्थ्यो । उसकी स्वास्नी रामवती बच्चालाई काखमा सुताएर इटाको चुल्होमा बाक्ला बाक्ला रोटी पकाउँदै थिई । हलकु हाँसेर केही भन्दैथियो र रामवती उसको कुरा सुनेर मरिमरी खित्का छोडिरहेकी थिई । रमेश उनीहरूलाई यति खुसी देखेर सोच्न थाल्यो- यो हलकु दिनको एक सय रुपियाँ कमाउँछ र पनि यति खुसी कसरी हुनसकेको होला !

जिज्ञासावश रमेशका कदम पालको सामुन्ने पुगेर रोकिए र उसले सोध्यो- ‘हलकु भाइ ! आज के कुराले तिमी यति खुसी भइरहेछौ ?’ हलकुले ‘नमस्कार हजुर आउनूस्’ भन्दै एउटा काठको मुढा रमेशका अगाडि सम्मानका साथ राखिदियो । रमेश त्यसमा बसेर फेरि त्यही प्रश्न दोहोर्यायो । अनि हलकुले भन्यो– ‘हजुर ! खुसी हुनलाई पनि कुनै कारण चाहिन्छ र ! यो त सदैव आफ्नो मनमा हुन्छ । ईश्वरले खुसी हुनलाई नै त हामीलाई जन्म दिएका हुन् नि !’

अनि रमेशले आश्र्यचकित हुँदै भन्यो- ‘तर तिमी सय रुपियाँ कमाउँछौ र पनि खुसी छौ । के तिमीलाई आफ्नो भविष्यको चिन्ता छैन ?’
यो सुनेर हलकुले मुस्कुराउँदै भन्यो- ‘हजुर ! चिन्ता गर्दा त काम गर्न मन लाग्दैन । काम कम भयो भने ज्याला- मजदुरी पनि कम हुन्छ, त्यसैले धेरै ज्याला पाएको दिन मज्जाले खान्छौँ, कम ज्याला पाएको दिन आउने राम्रो दिनको खुसीको प्रतीक्षा गर्छौं । मेहनतले त ईश्वर खुसी हुन्छन् र हाम्रो हरेक सङ्कटलाई पार लगाउँछन् । त्यसैले जहिलेसम्म बाँच्छौँ, रमाएर बाँच्छौँ ।’ रमेशले हलकूको कुरा गम्भीरतापूर्वक सुन्यो र थप कुनै प्रश्न नगरी आफ्नो चिन्ता भुलेर मुस्कुराउँदै उठ्यो र घरतिर लाग्यो ।

अनुवाद: रमण घिमिरे