१.
दिनको पचास त के
दिनको पचास त के हजार पटक् कती समझाउनू
म गरीबको घरमा हरे तिमीले यसोरी नआउनू ।
रिसमा थियौ कि खुसी थियौ, म त केही जान्दिनँ के थियौ,
कि यसो थियौ, कि उसो थियौ मनमा कसोरी बुझाउनू ।
न त आ भनूँ, न त जा भनूँ म यसो भनूँ कि उसो भनूँ
तिनीको मिजाज म के भनूँ, कतिसम्म विन्ति चढाउनू ।
वय सोह्रको मन साठिको छ र पो गजब छ ति प्यारिको
मुखको खाव छ चन्द्रको, ननिको छ मिस्सि लगाउनू ।
मनसुब पुग्नू परै रहोस् दरसन् पनि छ कठिन जहाँ,
अब बाँचने छू मता कहाँ तिनीलाई यति सुनाउनू ।
तिमि बिर्सि आलत क्यै जनी, मत संझदो छु अझै पनि,
मुखभित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू ।
मणि हो भनूँ त न झल्कँने बिजुली भनूँ त न चंकने
आइना भनूँ त न टल्कने उपमा कसोरी जुराउनू ।
तिमि पर्खि पर्ख भनी भनीकन जानू, फेरि नआउनू,
खपि सक्नु छैन मलाइ त, तिमिले यसोरि छकाउनू ।
सुन है सबै हरिको हुकुम् म हुकुम् भनूँ कि भनूँ जुलुम्
अघि जो भयो उत भै गयो तर फेरि मोति न लाउनू ।
……….
२.
म तिम्रा अघी पर्न लायक् कहाँ छू
म तिम्रा अघी पर्न लायक् कहाँ छू,
त्यसैले अघी सर्न लायक् कहाँ छू ।
हुकुम हुन्छ तिम्रो त हाजिर छँदै छू,
बिना मर्जि आँट गर्न लायक् कहाँ छू ।
अरूका ऊपर आँखिभौँ तानि हाने,
म जावो हरे ! मर्न लायक् कहाँ छू ।
जहाँसम्म मन चल्छ लौ हुन्छ घुर्कुन्,
तिनै झैँ नजर् तर्न लायक कहाँ छू ।
सहडमै छ मन् हर्न सक्नू हरीले,
सुनीस् मोति त्यो गर्न लायक् कहाँ छू ।
३.
यतिसम्म प्रीति गरी
यति सम्म प्रीति गरी गरी न यता भयें न उता भयें,
नत मन् लियें नत दीदियें न यता भयें न उता भयें ।
नत होस् वा सकि राखियो नत फूलको रस चाखियो,
नत याद भो नत स्वाद भो, न यता भयें न उता भयें ।
बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू,
नत छिन्दिनू, नत नछिन्दिनू, न यता भयें न उता भयें ।
नत साथ बस्न सँगी भयें नत दुस्मनै सरि भै गएँ
न पुरानियाँ नतमो नयाँ न यताभयें न उताभयें ।
नत खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भएँ न उता भयें ।