रिस जसलाई पनि उठ्छ । कसैको कुरा मन परेन भने या व्यवहार ठीक लागेन भने रिस उठ्नु स्वाभाविक हो । एकपटक रिस उठेपछि फेरि दिमागबाट हटाउन मुस्किल पर्छ । यही कुराले मस्तिष्क रिँगाइरहन्छ । यसैमाथि सोचिरहिन्छ । साथीसङ्गी जोसँग पनि कुरा हुँदा यही घटनाको प्रसङ्ग चलिरहन्छ । मन नगालीनगाली पनि यो कुरा सुनाउन मन लाग्छ । गुनासो गरिरहन मन लाग्छ । कोही छैन भने आफैँसँग पनि द्वन्द्व भइरहन्छ । यसले रिस उठाउने व्यक्तिलाई त केही फरक पर्दैन तर आफैँलाई भने अवश्य हानि हुन्छ ।
दि चाह्यो भने यस स्थितिबाट मुक्त हुन सकिन्छ र यसको असरबाट आफूलाई बचाउन सकिन्छ । कसरी ? यसमा बुद्धको एउटा कथाले अवश्य सहयोग गर्नेछ :
एकपटक एउटा गाउँमा बुद्धको प्रवचन भइरहेको थियो । बुद्ध भन्दै थिए– ‘जब हामी रिसाउँछौँ, अर्कोलाई नोक्सान पुर्याउने कोसिस गछौँं । त्यतिवेला हामी यति आवेशमा हुन्छौँ– ‘हाम्रो सोच्ने, बुझ्ने साहस समाप्त हुन्छ । त्यसैले क्रोधमा हामी सही निर्णय गर्न पाउँदैनौँ र आफ्नो कुभलो गर्छौं ।’
बुद्धको प्रवचन सुन्नेमध्येमा यस्तै रिसाहा एक व्यक्ति पनि थियो । उसलाई बुद्धको कुरामा रिस उठिरहेको थियो । त्यस दिन ऊ परिवारसँग झगडा गरेर आएको थियो र त्यस समय पनि उसको दिमागमा त्यसको उथलपुथल चलिरहेको थियो । त्यसैले उसलाई बुद्ध–वाणी राम्रो लागिरहेको थिएन । उसलाई लागिरहेथ्यो, मानौँ बुद्ध उसलाई नै व्यङग्य गरिरहेछन्, सबैसामु उसको अपमान गरिरहेछन् ।
यो सोचेर त्यस व्यक्तिको रिस अझ चरममा पुग्यो । ऊ आफ्नो ठाउँबाट जुरुक्क उठेर बुद्धसामु पुग्यो । कसैले उसलाई रोकून्, त्यसभन्दा पहिले नै उसले बुद्धको मुखमा थुकिदियो ।
उसको यो घृणितकार्य देखेर त्यहाँ उपस्थित अरूहरूले संयम गुमाए र उसलाई मनपरी गाली गर्नथाले । तर बुद्ध भने आफ्नो ठाउँ पूर्ववत् शान्त बसिरहेका थिए । बुद्धले आफ्नो अनुहार पुछे र भने– ‘कुरा के हो बाबु, तिमीलाई केही भन्नु छ ?’
ऊ बुद्धको कुराको कुनै उत्तर नदिई त्यहाँबाट उठेर हिँडयो । यो देखेर एक व्यक्तिलाई सहीनसक्नु भयो र बुद्धलाई सोध्यो– ‘महात्मा ! त्यस व्यक्तिले हजुरको अपमान गर्यो तर हजुरले त्यसलाई केही भन्नु भएन त ?’
उसको कुरा सुनेर बुद्ध फिसिक्क हाँसे र भने– ‘तिमीले सायद त्यसको अनुहार देखेनौ । त्यो धेरै तनावमा भएजस्तो देखिन्थ्यो । मलाई लाग्छ, ऊ कुनै चिन्तामा डुबेको थियो । त्यसैले यस्तो चिन्तित व्यक्तिलाई के दोष दिनु ?’
बुद्धलाई थुक्ने मान्छे त्यहाँबाट उठेपछि आफ्नो घर गयो । ऊ दिनभरि छटपटियो । उसलाई आफ्नो कृत्यमाथि पश्चात्ताप भइरह्यो । ऊ राती पनि निदाउन सकेन, छटपटीमा यताउता कोल्टे फेर्दै रात काट्यो । र, अर्को बिहान फेरि बुद्धको प्रवचनमा पुग्यो । त्यहाँ पुग्नासाथ ऊ बुद्धको चरण समाएर रुन थाल्यो । यो देखेर बुद्धले भने– ‘के भयो बाबु, तिमी किन रोइरहेछौ ?’
उसले भन्यो– ‘म त्यही दुष्ट हुँ, जसले हिजो तपाईंको अपमान गरेको थियो । थाहा छैन हिजो मेरो दिमागमा कुन पागलपन सलबलाएको थियो र मैले त्यस्तो घृणित कार्य गरेँ । कृपया मलाई क्षमा दिनुहोस् !’
बुद्धले भने– ‘हिजोको कुरा त हिजै सकियो बाबु ! हिजोका बारेमा आज के सोच्नु ! यदि मैले त्यस घटनाका बारेमा सोचिरहेको भए, क्रोध गरिरहेको भए, त्यसबाट खालि मेरो मन दुख्थ्यो । यसले तिमीलाई कुनै फरक पर्दैनथ्यो ।
त्यसैले खराब घटना याद गर्नु समझदारी होइन । यसले हाम्रो छटपटी बढाउँछ र जीवन अवरुद्ध हुन्छ । त्यसैले अप्रिय कुरा र अप्रिय घटनाहरूलाई भुल्नु नै समझदारी हुन्छ । जसले यस्ता घटनाहरूलाई भुल्छ, त्यही जीवनमा अगाडि बढ्छ । अनि जो अल्झिरहन्छ, उसको जीवन चक्रव्यूह समान हुन्छ, चाहेर पनि बाहिर निस्किन सक्तैन ।’
त्यसैले क्रोध गर्नु यस्तो कुकृत्य हो, जस्तो विष आफूले पिएर सामुन्नेको मानिस मरोस् भन्ने कामना गर्नु । त्यसैले रिस उठ्दा के यादराख्नुपर्छ भने रिसाएर, चुपचाप बसेर आफ्नै नोक्सानी गरिरहेका हुन्छौँ । यसले समयको नाक्सानी त हुन्छ, हुन्छ साथै शारीरिक नोक्सानी पनि हुन्छ । त्यसैले अप्रिय कुरा या घटना दिमागमा खेलाएर बस्नु कुनै निकास होइन । यस्ता घटनाहरूलाई बिर्सेर अघि बढ्नु बुद्धिमानी हुन्छ । अनि त हामी आफ्नो जीवन–प्रवाहसाथ आफूलाई आत्मसात् गर्न सक्छौँ र जीवनान्द प्राप्त गर्न सक्छौँ ।
अधिकांश मानिस आफ्नो दुःखको कारण कोही अरू नै हो भन्ने सम्झन्छन् । तर यो निष्कर्ष पूर्णतः गलत हो । यदि हामी नकारात्मकतालाई अङ्गीकार गर्छौं भने सम्झनू; हामी आफ्नै खुट्टामा बन्चरो प्रहार गरिरहेका हुन्छौँ । यदि हामीले यसलाई अस्वीकार गर्यौं भने हामी घृणा, कोध र हिंसाबाट मुक्त हुन्छौँ र आनन्दको जीवन व्यतीत गर्न पुग्छौँ ।