• २०८१ श्रावाण ११ शुक्रबार

यसरी भयो, भारतमा पहिलो चलचित्रको प्रदर्शनी

आजभन्दा करिब एक सय २६ वर्षपहिले अर्थात ७ जुलाई १८९६ मा बम्बैको टाइम्स अफ इन्डियामा एउटा विज्ञापन प्रकाशित भयो । विज्ञापनमा सहरवासीलाई वट्सन होटेलमा शताब्दीकै महानतम उपलब्धि तथा विश्वको सबैभन्दा ठूलो चमत्कार हेर्न आउन आमन्त्रित गरिएको थियो ।

विज्ञापन अनुसार साँझ फरकफरक चार समयमा यो चमत्कार हेर्न आउने दर्शकलाई हलमा बोलाइएको थियो र, हरेक सोको टिकट भारु १ रुपियाँ तोकिएको थियो, त्यस समय यो रकम धेरै मँहगो मानिन्थ्यो ।
यो चमत्कार अरू केही थिएन, अपितु भारतीय उपमहाद्वीपमा चलचित्रको पहिलो प्रदर्शनी थियो । साँझ छ देखि १० बजेसम्म चल्ने यो हेर्न आएका दर्शकले आजको चलचित्रमा जस्तो नाच, गीत, संवाद, एक्सन हेर्न पाएनन् । ‘अराइभल अफ ट्रेन’ अर्थात रेलको आगमन नामक चलचित्रमा रेल आएको दृश्य हेरे ।
नाच, गीत, संवाद त थिएन नै साथै त्यो चलचित्र एउटै घटनामा आधारित थियो । त्यस वेलाका चलचित्रमा अक्सर एउटै घटना हुन्थ्यो- प्रथम विश्वयुद्ध । यो चलचित्र भारतमा ल्याउने दुई फ्रान्सेली दाजुभाइ लुई र अगस्त लुमियर थिए । यस कम्पनीको नाम थियो- सिनेम्याटोग्राफी, जुन नाम आजसम्म चलचित्र निर्माणको क्षेत्रमा प्रयोग हुन्छ ।

निर्माता दाजुभाइ लुई र अगस्त लुमियर

लुमियर दाजु-भाइले यसअघि २८ डिसेम्बर १८९५ मा पेरिसको ग्य्रान्ड क्याफेमा यस्तै चलचित्र देखाएका थिए । पेरिसको सफतापछि उनीहरूले लन्डनमा पनि प्रदर्शन गरेका थिए ।
फिल्ममा यस्तो कुनै आश्चर्यजनक कुरा थिएन । खालि एउटा रेल प्लेटफर्ममा आएर रोकिन्छ । तर जब यही दृश्य पहिलोपटक लन्डनको ठूलो पर्दामा देखाइयो, तब केही क्षणका लागि दर्शकले यस्तो अनुभूति गरे, मानौँ रेल पर्दाबाट निस्केर उनीहरू तिर आइरहेछ र केही क्षणमा उनीहरू किचेर जानेछ । यस दृश्यका कारण दर्शक त्रास र आतङ्कले सिटबाट उठेर ढोका बाहिर भाग्न थाले । केही महिला त बेहोसनै भए र अस्पतालबाट नर्सलाई बोलाएर उपचार समेत गर्नुपर्यो।

इन ‘अराइभल अफ ट्रेन’ को दृश्य

‘अराइभल अफ ट्रेन’ प्रतिको उत्साहका कारण पछि १४ जुलाई १८९६ देखि बम्बैको नोभल्टी थिएटरमा फेरि तीन दिन यो चलचित्र देखाइयो । लुमियर बन्धुले दर्शकको रुचि र उत्साह देखेर त्यस थिएटरमा केही अरू नयाँ चलचित्रहरू पनि देखाए । यो प्रदर्शनी २४ पटक भयो र प्रदर्शनी तीन दिनबाट बढेर एक महिनासम्म चल्यो । टिकटको दर पनि एक रुपियाँबाट दुई रुपियाँ बनाइयो । बुर्का लगाउने महिलाका लागि छुट्टै कक्षको व्यवस्था समेत गरियो । टिकट दर चार आनादेखि दुई रुपियाँसम्म तोकियो । आज जस्तो मँहगो टिकट काट्नेलाई पछाडि र सस्तोलाई अगाडि होइन, मँहगो दुई रुपियाँवालालाई अगाडि र चार आनावालालाई पछाडिको सिटमा राखिएको थियो ।

यो लुमियर बन्धुहरूको महान् वैज्ञानिक आविष्कार थियो र उनीहरू भारतसँगसँगै यो चलचित्रको प्रदर्शनी अन्य देशहरूमा पनि गरिरहेका थिए । जुन समय यो चलचित्र भारतमा प्रदर्शन हुँदै थियो, त्यही वेला यही चलचित्र रुसमा पनि देखाइँदै थियो ।

बिबिसी हिन्दीबाट साभार