• २०८० जेठ १७ बुधबार

कथा दिवसमा कथाकार मैनालीको स्मरण

जेठ २२, काठमाडौँ

साहित्यिक पत्रकार सङ्घले कथादिवसका अवसरमा प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको योगदानलाई स्मरण गर्दै कथादिवस मनाएको छ । थोरै लेखेर नेपाली साहित्यमा नेपाली आधुनिक कथाका प्रणेता कहलाइएका मैनालीले सामाजिक जीवन, ग्रामीण परिवेश, पात्रलाई आधुनिक धारका कथामा भित्र्याएका थिए ।

साहित्यिक पत्रकार सङ्घद्वारा ४१औँ कथा दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मैनालीका कथा लेखनको चर्चा गर्दै प्राज्ञ माया ठकुरी, साहित्यकारहरू प्रमोद प्रधान, गोविन्द गिरी प्रेरणा, बाबा बस्नेत, उपमा आचार्यलगायतले मैनालीको स्मरण गरे ।

प्राज्ञ ठकुरीले आधुनिक कथाका सुरुवातकर्ताका रूपमा मैनालीको स्मरण गरिन् । नेपाली कथाका फाँटमा मैनालीले बसाएको आधुनिक धारलाई महत्त्वपूर्ण समयका रूपमा लिँदै अहिलेको धार त्यही आधारमा बगेको उनले बताइन् । ‘प्रत्येक व्यक्तिले आफू उभिएको स्थान र आफूलाई सहयोग गर्नेहरूलाई बिर्सन हुन्न । हामीले गुरुप्रसाद मैनालीको योगदानलाई स्मरण गर्न जरुरी छ,’ उनले भनिन् । समालोचक प्रधानले मैनाली नेपाली कथा-साहित्यमा विषयवस्तु, संरचना, शैली, भाषा सबै दृष्टिले नेपाली कथाका पहिलो आधुनिक र महत्त्वपूर्ण कथाकार भएको बताए । अर्का साहित्यकार गिरीले मैनालीका कथामा समाजको फैलावट र गहिराइ दुवै पाइने उल्लेख गरे । मैनालीका कथा लेखनको चर्चा गर्दै कथाकारहरू हिरण्यकुमारी पाठक, मधुवन पौडेललगायतले लघुकथा वाचन गरेका थिए । संघले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको छ ।