• २०८१ श्रावाण ११ शुक्रबार

निदाउनु अघि

विवेक दुलाल क्षेत्री “दमक“

विवेक दुलाल क्षेत्री “दमक“

नदेखेको हुन्छ सपना
नहिडेको हुन्छ बाटो
नसुनेको हुन्छ समाचार
नछुटेको हुन्छ समय
नपढेको हुन्छ अक्षर
नगरेको हुन्छ उच्चारण
नचस्केको हुन्छ मुटु
नभएको हुन्छ प्रेम
नरसाएको हुन्छ आँखा
नभेटिएको हुन्छ सत्य
नखसालिएको हुन्छ अहन्कार
नलागेको हुन्छ बाडुली
नभएको हुन्छ तर्क
नबगेको हुन्छ रहर
नपठाइएको हुन्छ खवर
नगरिएको हुन्छ हिसाब

र तिनिहरू बिस्तारै हिडेका हुन
र तिनिहरू  इष्र्यालु बनेका हुन
र तिनिहरू आतिएका हुन्
र तिनिहरू ओरालो झरेका हुन्
मुर्तीवत बनेका हुन्
शन्कामा बलेका हुन
फेरि देखिएका हुन
विरक्तिएका हुन
तिनीहरू जोसिएका हुन
हासेका हुन
र अघि बढेका हुन

अनि-
समय बालिग भएको छ
समय रमिते बनेको छ
निम्छरो छ
निबृत छ
पेण्डुलम छ
आतिएको छ
कपटी छ
समय निचोरिएको छ

अब च्यातिनु पर्छ क्रुरता
भाडिनु पर्छ असत्य
गाइनु पर्छ अर्ध सत्य
उकालो लाग्नु पर्छ खुशी
झारिनु हुन्न आँसु
अब हार्नु हुन्न जिन्दगी

यसैले-
क देखि ज्ञ सम्म अम्मल छोड्नु पर्छ
मेची महाकालीसम्म माटो खोस्रीनु पर्छ
प्याराग्राफ देखि मात्रा सम्म देशभक्त खोजिनु पर्छ
हिमाल देखि मधेशसम्म भाइचारा उम्रनु पर्छ
गुराँसको रङ्ग माटोको रङ्ग
पशीनाको रङ्ग खुशीको रङ्ग
एकमात्र होस् नेपाली नेपाली बिचको प्रेमको रङ्ग

कतै बिरह नगाइयोस हजुर
कतै शर्मिन्दा नबनाइयोस हजुर
कतै कुचेष्टा नगरियोस हजुर
कतै भर्सना नगरीयोस हजुर

किनभने-
बिस्तारै बुझ्दैछु
म हाम्रो सन्कल्प
बिस्तारै चिन्दैछु
म हाम्रो माटो
बिस्तारै गाउदैछु
म हाम्रो एकताको गीत
निदाउनु अघि ।


विवेक दुलाल क्षेत्री “दमक“, दमक, झापा, हाल- युएइ ।
[email protected]