समाचार
विपत्मा राजनीति गर्न हुन्न …
पिडितहरू हो,
चुपचाप बस !
फसेकाहरू हो,
गुहार नमाग !
भोक नभन !
औसधि नमाग !
बन्द गर आवाज !
द्रुत गतिमा उद्दार हुँदैछ
दिनगन्ती नगरन हो
सके तिम्रो सासको
नभए लाशको उद्दार
यथाशीघ्र हुने नै छ
देख्दैनौ ?
त्यत्रा शवहरू खोजिएको ?
त्यत्रा मान्छेहरू निकालिएको ?
खाताहरूमा
सहयोगी अङ्कहरू बढिरहेको ?
चर्को निस्वास नलेऊ
उद्दारमा खटेकाहरूको हात काँप्ने छन्
औजारहरू निश्तेज हुनेछन्
बस् प्रार्थना गर
जे हुँदैछ,
अद्भुत हुँदैछ भन
चुपचाप बस
विपत्मा राजनीति त
गर्दै नगर !
कात्यायन, चाबहिल, काठमाडौं – ७